Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

राष्ट्र बैकः स्वायत्त हुने कि लाचार ?


महेश्वर दाहाल

वित्तीय क्षेत्रको विविधीकरण नहुँदा विकास र वाणिज्य एउटै ढाँचामा सीमित भएका छन् । मुलतः कर्जाको पहुँच वाणिज्य बैंकले मात्रै लिएका छन् । जुन सबैका लागि उपयुक्त छैन । एउटै ढाँचाको नीति, जस्तै “सबैलाई एकै साइजको जुत्ता’’ लागू गरिएको छ । जसले विविध आवश्यकतालाई बेवास्ता गर्छ । वित्तीय क्षेत्रले कर्जा र निक्षेप मात्र समातेको छ तर विविध वित्तीय प्रणालीको विस्तार सोचिएको छैन । विविधतायुक्त वित्तीय संरचना र त्यसको पहुँचबारे रणनीतिक सोचको अभाव छ । नियामक संस्थामाथि हुने कब्जा अझै खतरनाक बन्दै गएको छ । राज्यका संरचनामा राजनीतिक हस्तक्षेप बढ्दै जाँदा स्वायत्तता कमजोर भएको छ ।

नेपालको अर्थतन्त्र गम्भीर संकटमा छ । तर सरकार भने यसको सुधारमा गम्भीर देखिएको छैन । आर्थिक संकट समाधानका लागि राजनीतिक इच्छाशक्ति र दूरदर्शिता अनिवार्य हुन्छ । तर राष्ट्र बैंकजस्तो मौद्रिक र आर्थिक नियामक निकायको प्रमुख (गभर्नर) नियुक्तिमा समेत सरकार गठबन्धनमा अन्तर्विरोध हुनु र दुई तिहाइको बलियो सरकार यस्तो संवेदनशील विषयमा बिचौलियाको सल्लाहअनुसार चल्नु खेदजनक छ । कार्यकारी (सरकार) र राष्ट्र बैंकको समन्वय नहुँदा नै अर्थतन्त्र झनझन कमजोर बन्ने हो ।

गभर्नर नियुक्ति विवादले सरकार गठबन्धनको आन्तरिक असमझदारी मात्र होइन, आर्थिक दृष्टिकोणहीनता पनि उजागर गरेको छ । केही वर्ष यता वित्तीय क्षेत्रले निकै ठूलो चुनौतीको सामना गरिरहेको छ । यतिबेला बैंकहरूमा अधिक तरलता छ । जसको अर्थ ऋणको मागभन्दा बैंकहरूसँग नगद बढी छ । यसले मुद्रा स्फिति नियन्त्रण गर्ने चुनौती थपिदिएको छ । लगानीमा अवसरहरूको कमी हुनु, नीति र विधिमा अस्पष्टता हुनु, निजी क्षेत्रको ऋण लिने इच्छाशक्ति कमजोर हुनु, वित्तीय संस्थाहरूप्रति लगानीकर्ताका विश्वास घट्नु जस्ता कारण यसमा जोडिएका छन ।

फरक भिजनसहित उत्पादनशील क्षेत्रमा लगानी प्रवाह बढाउनुपर्नेमा कर्जा व्यवस्थापन नै एक गम्भीर चुनौती भएर देखा परेको छ । प्रचारित प्रतिवेदनहरूमा खराब तथा निष्क्रिय कर्जा ५–७ प्रतिशत देखाइए पनि वास्तविकतामा १६–१७ प्रतिशतसम्म पुगेको आँकलन गरिएको छ । त्यसैले गुणस्तरीय कर्जा व्यवस्थापन अपरिहार्य बनिरहेको छ ।

सहकारी क्षेत्रमा समस्या गहिरिंदै गएको छ । राष्ट्र बैंकको अनुमतिबिना लिजिङ कारोबार गरिनु र उच्च लगानीको जोखिमले यो क्षेत्र अस्थिर बनेको छ । अब ठूला सहकारीहरू मात्रै होइन, साना तथा मझौला सहकारीहरूबाट पनि समाधानको उपाय खोज्नुपर्छ । राष्ट्र बैंकले यसको स्पष्ट नेतृत्व लिनु आवश्यक छ र नियमनमा सक्रिय हस्तक्षेप गर्नुपर्छ । सहकारीहरू जनताको जीवनसँग जोडिएका संस्था भएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर त्यहाँ कडाइपूर्वक आर्थिक अनुशासन लागू गर्नुपर्छ । स्वायत्त र निस्पक्ष रही देशको मौद्रिक क्षेत्रको नेतृत्व गर्ने निकायले आफ्नो खस्कँदै गएको साखलाई सबल तुल्याएर निर्णायक कदम चाल्ने बेला आएको छ ।

सहकारी संस्था र लघुवित्तहरूमा खराब कर्जाका कारण वित्तीय संकट उत्पन्न भइसकेको छ भने वाणिज्य बैंकहरूमा पनि जोखिम बढ्दो छ । खराब कर्जाको वृद्धिले समग्र आर्थिक प्रणालीमै असर पार्न सक्छ ।

त्यसो त नेपालमा कर्जा प्रणाली अधिकेन्द्रित बन्दै गएको छ । सीमित व्यक्ति वा समूहको मात्र कर्जामा पहुँच छ । आवश्यकताभन्दा बढी कर्जा लेनदेन हुँदा ती तिर्नै नसक्ने अवस्थामा पुगेका छन् । कतिपयलाई कर्जा असुल गर्नका लागि समेत कर्जा दिने विडम्बनापूर्ण अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूले टालटुल शैलीमा समस्यालाई व्यवस्थापन गर्न खोजिरहेका छन् तर दीर्घकालीन समाधान खोजिएको छैन । यस्तो अवस्थामा कर्जा प्रवाहलाई समावेशी, पारदर्शी र आवश्यकता अनुसारको बनाउन नसक्दाको परिणाम हो यो ।

अझ कोभिडपछि उद्यमशीलताको विकासमा गम्भीर असर परेको छ । खासगरी मर्जर प्रक्रियाले साना–ठूला वित्तीय संस्थाहरू एकापसमा गाभिँदा सबै सेवाग्राहीहरू बाणिज्य बैंकमै निर्भर हुनुपर्ने अवस्था सिर्जना छ । यसले ग्रामीण उद्यमी र स्वरोजगारमा आधारितहरूको वित्तीय सेवामा पहुँच घटाएको छ ।

ग्रामीण क्षेत्रमा पुगेका माइक्रो फाइनान्सहरूले पनि चर्को ब्याजदर तोकेको छ । त्यसैले स्वरोजगारमा लागेकाहरूलाई उद्यम विस्तारका लागि सस्तो र सहज कर्जाको आवश्यकता छ । राज्यले यस्तो पहुँच विकास गर्न सबल नीतिगत संरचना बनाउनु पर्छ । यसले मात्र सचेत र स्वावलम्बी समाज निर्माणमा टेवा पु-याउँछ ।

वित्तीय क्षेत्रको विविधीकरण नहुँदा विकास र वाणिज्य एउटै ढाँचामा सीमित भएका छन् । मुलतः कर्जाको पहुँच वाणिज्य बैंकले मात्रै लिएका छन् । जुन सबैका लागि उपयुक्त छैन । एउटै ढाँचाको नीति, जस्तै “सबैलाई एकै साइजको जुत्ता’’ लागू गरिएको छ । जसले विविध आवश्यकतालाई बेवास्ता गर्छ । वित्तीय क्षेत्रले कर्जा र निक्षेप मात्र समातेको छ तर विविध वित्तीय प्रणालीको विस्तार सोचिएको छैन । विविधतायुक्त वित्तीय संरचना र त्यसको पहुँचबारे रणनीतिक सोचको अभाव छ । नियामक संस्थामाथि हुने कब्जा अझै खतरनाक बन्दै गएको छ । राज्यका संरचनामा राजनीतिक हस्तक्षेप बढ्दै जाँदा स्वायत्तता कमजोर भएको छ ।

देशभरिका संस्था र निकाय स्वायत्त र सक्षम नभई देश राम्रोसँग चल्दैन । राजनीतिक दबावमा कालो सूची हटाउने, गभर्नर नियुक्तिमा वा त्यसका काम कार्वाहीमा स्वार्थपरक भएर हस्तक्षेप गर्ने प्रवृत्तिकै कारण बैंक स्रोतको दुरुपयोग र वेथिति खडा भएका छन् । स्वायत्तता, पारदर्शिता र व्यावसायिकतालाई मजबुत बनाउँदै संस्थागत संरचनालाई बलियो बनाउनु अपरिहार्य छ । नत्र पुँजी पलायन झन भयावह हुनेछ । र, पुँजी पलायनले देशको आर्थिक स्थायित्वमा गम्भीर असर पार्नेछ ।

विदेशी लगानी र पूँजी आन्तरिक विकासमा प्रयोग हुनुपर्नेमा देशको पुँजी विदेशतिर जानुले रोजगारी, उत्पादनशीलता र वित्तीय प्रणालीमा नकारात्मक प्रभाव पार्दछ । गरिब जनता मिटरब्याजबाट पीडित हुनुको मुख्य कारण पनि बैंकिङ क्षेत्रमा पहुँच नपुग्नु नै हो । हुण्डीमार्फत पुँजी पलायन भइरहँदा प्रभावकारी नियन्त्रण नहुनुले पनि आर्थिक अस्थिरता बढाएको हो । कालो धनलाई सेतो बनाउने प्रक्रिया र राज्यको कमजोर निगरानीका कारण नेपाल दोस्रोपटक ग्रे लिष्टमा परेको हो । यदि वित्तीय प्रणालीमा गम्भीर सुधार गरिएको भए नेपाललाई ग्रे लिष्टबाट हटाउन सकिन्थ्यो । अब पनि ढिलाइ नगरी वित्तीय अनुशासन कडा पार्न आवश्यक छ । नत्र विभिन्न समस्याले अर्थतन्त्र थप कमजोर बनाउँदै लैजानेछ ।

नेपालको गुणात्मक अर्थसामाजिक विकासको मूल आधार सीमान्तकृत र अल्पसंख्यकको स्तरोन्नति नै हो । यसको चुनौती पनि दीर्घकालीन आर्थिक स्थायित्वसँग गासिएको छ ।

बैंकिङ प्रणालीमा रहेको रकम देशको कुल जीडीपी भन्दा ठूलो भइसकेको छ । यसले अर्थमन्त्रीमा भन्दा गभर्नरमा आकर्षण बढेको छ । उत्पादनशील क्षेत्रतिर रकम प्रवाह नहुँदा अर्थतन्त्रमा असन्तुलनको सङ्केत दिन्छ ।

राष्ट्र बैंक जस्तो नियमनकारी निकायको औचित्य नै सक्ने गरी वास्तवमा यसलाई सहकारी जस्तो बनाइन खोजिदैंछ । त्यसैले अबको प्राथमिकता गुम्दै गरेको राष्ट्र बैंकको साखलाई पुनःस्थापना गर्नु हो । राष्ट्र बैंकको भूमिकालाई कुशलतापूर्वक पुनःस्थापित नगर्ने हो भने वित्तीय क्षेत्र अस्थिर हुने र दीर्घकालीन वित्तीय संकट निम्तिने खतरा छ ।

पाकिस्तानलाई साउदी अरब, चीन र आईएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) जस्ता देश तथा संस्थाले सहयोग गरे, श्रीलंकालाई भारत, चीन र आईएमएफले सहयोग गरे, युक्रेनलाई अमेरिका र युरोपेली संघले सहयोग गरे । तर, नेपाल संकटमा परेमा यस्तो निश्चित सहयोगी राष्ट्र छैन । यस्तो अवस्थाले निराशा बढाउँछ । समस्यालाई लुकाएर होइन, खुलेर सामना गर्दा मात्र समाधान सम्भव हुन्छ ।

अरू देशहरू आफ्नो स्वार्थअनुसार सहयोग गर्छन् । त्यसैले नेपालले पनि आन्तरिक व्यवस्थापन सुधार्दै दीर्घकालीन रणनीति बनाउनैपर्छ । आजको ठूलो चुनौती यही हो । कोभिडको बेला राष्ट्र बैंकले चाहिने भन्दा धेरै राहत कार्यक्रम ल्यायो । पुनर्कर्जा दियो र दुई सय अर्बभन्दा बढी पैसा छापेर बजारमा पठायो । सस्तो ब्याजमा पैसा दिँदा धेरैले घरमै बसेर जग्गा र शेयर जस्ता अनुत्पादक वस्तु खरिद गरे । जसले जग्गाको मूल्य तीनगुणा बढायो । उद्योग र उत्पादनमा लगानी भएको भए अहिलेको आर्थिक संकट आउने थिएन । आयातमुखी अर्थतन्त्र हुँदा अति आवश्यक वस्तुहरूका साथसाथै विलासी वस्तुहरूको माग पनि उच्च थियो । बढ्दो माग पूर्तिका कारणले व्यापार घाटा बढ्दै गयो । र, श्रीलंकाको अवस्था जस्तै बन्ने डर देखियो ।

अर्थतन्त्रलाई सम्हाल्न र ड्यामेज कन्ट्रोल गर्न भन्दै सवारी साधन, सुन, मोबाइल फोन, विद्युतीय उपकरण, मदिरा, विलासी खाद्य वस्तु, सौन्दर्य सामग्री, खेलौना, लत्ताकपडा (ब्रान्डेड) र चुरोटजस्ता वस्तुमा प्रतिबन्ध त लगाइयो । तर, त्यसले अन्य आयातमा पनि प्रत्यक्ष/अप्रत्यक्ष असर पा-यो । जसले व्यापार लगभग ठप्प पा-यो । त्यसैले राष्ट्र बैंकको अत्याधिक मौद्रिक विस्तार र सरकारको कठोर नियन्त्रणले अर्थतन्त्र झनै सङ्कटमा प-यो । मौद्रिक नीतिमा गम्भीर त्रुटिहरू भएकाले सरकारले बजार खुलाउनेभन्दा पनि नियन्त्रण गर्ने नीति अपनाएकोले युवा पलायन बढे ।

यस्ता त्रुटिपूर्ण नीतिले अर्थतन्त्रलाई रनभुल्लमा पु-याएको छ । निजी क्षेत्र हतोत्साहित छन् भने रोजगारी सिर्जना हुन सकेको छैन । अब मौद्रिक नीतिमा आलोचनात्मक सुधार आवश्यक छ । जसले उत्पादन, रोजगारी र दीर्घकालीन स्थायित्व सुनिश्चित गरोस् । अब ब्याजदर, ऋण नीति र वैदेशिक मुद्राको व्यवस्थापन पुनर्विचार गर्नुपर्ने बेला आएको छ । राष्ट्र बैंकले सरकारलाई समयमै सही सल्लाह दिनु अत्यावश्यक छ । किनकि यो सरकारको प्रमुख आर्थिक सल्लाहकार पनि हो ।

अर्थतन्त्रमा के कस्ता नीति अपनाउने भन्ने विषयमा राष्ट्र बैंकले अर्थमन्त्री र प्रधानमन्त्रीलाई परामर्श दिनुपर्छ । बैंक तथा वित्तीय संस्थामा देखिएका विकृति नियन्त्रण गर्नुका साथै आम नागरिकको निक्षेप सुरक्षित राख्ने प्राथमिकता हुनुपर्छ । वित्तको दुरुपयोग रोक्न प्रणाली बनाउनु आवश्यक छ । साना तथा मझौला उद्यमलाई सहज पहुँच दिनुपर्छ । मौद्रिक र वित्तीय नीतिबाट सन्तुलित समायोजन गरिनुपर्छ भने ठूला बैंकहरूको ‘एसेट क्वालिटी रिभ्यु’ अनिवार्य हुनुपर्छ ।

सहकारी क्षेत्रमा समस्या गहिरिंदै गएको छ । राष्ट्र बैंकको अनुमतिबिना लिजिङ कारोबार गरिनु र उच्च लगानीको जोखिमले यो क्षेत्र अस्थिर बनेको छ । अब ठूला सहकारीहरू मात्रै होइन, साना तथा मझौला सहकारीहरूबाट पनि समाधानको उपाय खोज्नुपर्छ । राष्ट्र बैंकले यसको स्पष्ट नेतृत्व लिनु आवश्यक छ र नियमनमा सक्रिय हस्तक्षेप गर्नुपर्छ । सहकारीहरू जनताको जीवनसँग जोडिएका संस्था भएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर त्यहाँ कडाइपूर्वक आर्थिक अनुशासन लागू गर्नुपर्छ । स्वायत्त र निस्पक्ष रही देशको मौद्रिक क्षेत्रको नेतृत्व गर्ने निकायले आफ्नो खस्कँदै गएको साखलाई सबल तुल्याएर निर्णायक कदम चाल्ने बेला आएको छ । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : अर्थ, बिचार

प्रतिक्रिया


ताजा अपडेट