यी ६ नियम पालना गर्छन् १०० वर्ष बाँच्ने ‘ब्लु जोन’ का मानिस
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनसांख्यिक सूचकले नेपालीको औसत आयु ७१.३ वर्ष देखाएको छ। सन् २०२२ मा जारी गरिएको नमुना परीक्षणको प्रतिवेदन अनुसार भारतीयहरु औसतमा ७० वर्ष बाँच्छन्।
तर, कुनैकुनै ठाउँमा मानिसको आयु त्यसभन्दा धेरै बढी छ। तिनीहरु स्वस्थ र रोगमुक्त जीवन पनि बाँच्दछन्। यी क्षेत्रहरुलाई ‘ब्लु जोन’ भन्ने गरिएको छ। सो क्षेत्रका थुप्रै मानिसहरुमा सय पार गर्छन्। तिनको जीवन विश्वका लागि चर्चा र चासोको विषय बन्ने गरेको छ।
‘ब्लु जोन’ भनेर हाल विश्वका पाँच स्थानलाई पहिचान गरिएको छः जापानको ओकिनावा, इटलीको सार्डिनिया, कोस्टारिकाको निकोया प्रायःद्वीप, ग्रिसको इकारिया, अमेरिकाको यालिफोर्नियास्थित लोमा लिन्डा। यी ५ स्थानका मानिसहरुको रहनसहन र खानपान एक–अर्कासँग फरक छ।
तर, सबैमा एउटा कुरा समान छ। उनीहरु प्रकृतिको धेरै नजिक छन्। प्रशोधित र औद्योगिक रूपमा उत्पादित चीजहरू खानुको सट्टा तिनीहरू प्रकृतिमा फलेका अप्रशोधित खानेकुरा बढी खान्छन्।
त्यस्तै, पेट भरिनेगरी पनि उनीहरु खाँदैनन्।
‘ब्लु जोन’का मानिसहरुको जीवनशैलीका ६ नियम
अमेरिकी लेखक तथा अन्वेषक ड्यान बुटनरले जनसांख्याविद् जियानी पेसे र मिचेल पाउलिनसँग मिलेर एक अनुसन्धान गरिरहेका थिए। उनीहरूले नक्सामा ती क्षेत्रहरू पहिचान गरिरहेका थिए, जहाँ मानिसहरू १०० वर्षभन्दा बढी बाँच्छन्। जब उनले ती क्षेत्रहरू पहिचान गर्न नक्सामा चिन्ह लगाउँदै थिए, उनको हातमा निलो कलम थियो। उनले नक्सामा ती क्षेत्रहरूलाई निलो मसीले हाइलाइट गरे। त्यसैले ती ठाउँहरूलाई ‘ब्लु जोन’ नाम दिइयो। यो नामका पछाडि कुनै कारण भने छैन।
यी स्थानका मानिसको लामो आयुको रहस्य स्वस्थ आहार मात्र होइन। अनुसन्धानकर्ताले उनीहरुको जीवनशैलीका ६ आयामहरु पत्ता लगाएका छन्। जुन यसप्रकार छन्ः
१. कडा परिश्रम
‘ब्लु जोन’मा बस्ने मानिसहरू फिट रहन जिममा पसिना बगाउँदैनन्। उनीहरु कुनै म्याराथनमा पनि भाग लिँदैनन्। उनीहरु आफ्नो दैनिक जीवनमा धेरै शारीरिक कसरत गर्छन्। उनीहरु लामो दूरीको पैदल यात्रा गर्छन्। शारीरिक श्रम गर्छन्। श्रमले उनीहरूलाई शारीरिक र मानसिक रूपमा बलियो र फिट बनाउँछ।
यो क्षेत्रका मानिसहरु बिहान उठेर आफ्नो जीवनको उद्देश्यलाई याद गर्छन्। हेल्थ अफेयर्समा प्रकाशित एक अध्ययन अनुसार जीवनमा कुनै लक्ष्य छ भने त्यसले मानिसको आयु ७ वर्ष वृद्धि हुन्छ।
२. सहरी तनावबाट टाढा
भनिन्छ, चिन्ताले चितासम्म पुर्याउँछ। ‘ब्लु जोन’का मानिसहरू पनि यस्तै सोच्छन्। सामान्यतया यी मानिसहरू कुनै पनि कुरामा धेरै तनाव लिँदैनन्। जब सामान्य तनाव हुन्छ, उनीहरु त्यो तनावबाट बाहिर निस्कने उपाय खोज्छन्। उनीहरु एउटै तनावमा अल्झिएर बस्ने स्वभावका हुँदैनन्। दुर्घटना, मृत्यु वा अप्रिय घटना हुँदा यहाँ मानिसहरु एक–अर्काको सहारा बनिदिन्छन्।
३. खानामा नियम पालना
यस क्षेत्रका मानिसहरु खानामा पनि नियम पालना गर्छन्। आफ्नो पेट ८० प्रतिशत भरिएपछि खाना बन्द गर्छन्। अर्थात पूर्ण रुपले पेट भरिने गरी भोजन गर्दैनन्। जसले पाचन प्रणाली राम्रो बनाउँछ। शरीरमा स्फूर्ति र रातमा गहिरो निद्रा पर्छ। उनीहरु सूर्यास्तअघि नै खाना खान्छन्। रातमा चाँडै सुत्छन् र बिहान सूर्योदय अगाडि नै उठ्ने गर्छन्।
उनीहरु प्राकृतिक रुपमा उत्पादन भएका खाना मात्रै खान्छन्। पूर्ण रुपमा गेडागुडी, अनाज र दाल जस्ता पौष्टिक तत्वले भरिपूर्ण खानेकुरा खान्छन्। सुख्खा खानेकुरा खाँदैनन्। प्याकेज गरिएको खानेकुरा, चिसो पेय पदार्थ र अल्ट्राप्रोसेस्ड खाद्यान्न अझै पनि ‘ब्लु जोन’ क्षेत्रमा पुगेको छैन। स्वादको लागि महिनामा औसत ६ पटक सुँगुरको मासु खान्छन्। त्यो पनि मात्रा मिलाएर।
यो क्षेत्रका मानिसहरु रक्सी भने खान्छन्। उनीहरु हरेक साँझ रक्सी खान्छन्। दैनिक केही पेग खानु स्वास्थ्यका लागि राम्रो हुने उनीहरुको विश्वास छ। यही विश्वासका आधारमा उनीहरू आफ्ना साथीहरूसँग बस्छन् र मदिरा पिएर लामो समयसम्म कुराकानी गर्छन्। सायद यहाँ रक्सीभन्दा बढी, साथीहरूको संगत र खुसी निर्णायक कारक बनेको छ।
४. आध्यात्मिक सम्बन्ध
बुटनरका अनुसार उनले अन्तर्वार्ता लिएका २६३ व्यक्तिहरूमध्ये जो १०० वर्षभन्दा बढी बाँचेका थिए, पाँच बाहेक सबै कुनै न कुनै आस्थामा आबद्ध थिए। उनीहरुले आध्यात्मिक कार्यक्रमहरुमा भाग लिएका थिए। ‘द हार्वर्ड ग्याजेट’मा प्रकाशित एक अध्ययनका अनुसार आस्थासँग सम्बन्धित कार्यक्रमहरूमा सहभागी हुने मानिसको आयु ४ देखि १४ वर्षसम्म बढ्न सक्छ।
५. परिवारलाई प्राथमिकता
सारा विश्व एकल परिवारतर्फ उन्मुख हुँदा ‘ब्लु जोन’का मानिसहरू संयुक्त परिवारमा विश्वास गर्छन्। यहाँ केटाकेटी, बुढापाका र जवान सबै सँगै बस्छन्। यी व्यक्तिहरू आवश्यक पर्दा एकअर्काको लागि शारीरिक, मानसिक र भावनात्मक सहयोगी बन्छन्।
६. बलियो सामाजिक सम्बन्ध
यहाँका मानिसहरु समाजलाई परिवारजत्तिकै विश्वास गर्छन्। साथी समूहमा बस्छन्। एकले अर्कालाई समर्थन गर्छन्। विभिन्न अनुसन्धान अनुसार एक्लोपन जीवनका लागि हानिकारक हुन्छ। त्यसैले ‘ब्लु जोन’का बासिन्दाले आफ्ना साथीभाइसँग आफ्नो सुख–दुःख बाँड्ने गरेका छन्।
साइन्टिफिक अमेरिकन जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार हाम्रो आयु कति लामो हुन्छ भन्ने निर्णयमा आनुवंशिकीको भूमिका २० देखि ३० प्रतिशत मात्रै हुन्छ। हाम्रो दैनिक दिनचर्या र खाने बानी ७० प्रतिशत जिम्मेवार छन्। यसको मतलब, हामीले चाहेमा आफ्नो आयु बढाउन सक्छौँ। रोगहरूबाट मुक्त रहन सक्छौँ र स्वस्थ जीवन बिताउन सक्छौँ। यसको उत्कृष्ट उदाहरण ‘ब्लु जोन’का मानिसहरूको जीवन हो। हामी पनि त्यसलाई अपनाउ सक्छौँ।
क्याटेगोरी : स्वास्थ्य
प्रतिक्रिया