फेरि बढ्यो काठमाडौंमा प्रदूषण
गएको साता घटेको काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा शनिबारदेखि फेरि बढेको छ । आइतबार काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) आइतबार १०० भन्दा माथि छ ।
वातावरण विभागको रेकर्डमा बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १६७ मापन भएको छ । यस्तै, शंखपार्कको एक्यूआई १५१, खुमलटारको एक्यूआई १०३ र भक्तपुरको एक्यूआई ८७ मापन भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १०२ देखि १९७ सम्म मापन भएको छ । गएको साता काठमाडौंका अधिकांस स्थानमा एक्यूआई ५० भन्दा तल झरेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार वायु स्वस्थकर हुन एक्यूआई ५० भन्दा कम हुनुपर्दछ । १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ ।
वायुमा खराब ग्यास तथा कणहरूको मात्रा (पीएम २.५, पीएम १०) लगायतका आधारमा एक्यूआई मापन गरिन्छ ।
क्याटेगोरी : स्वास्थ्य
प्रतिक्रिया