सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्ने एक व्यक्ति पक्राउ

धनगढी, ५ फागुन । कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण राना पक्राउ परेका हुन् । बिरामी कुरुवा बसेका रानाले आज विहान अस्पतालमा कार्यरत डा. वेदप्रकाश भट्टमाथि आक्रमण गरेको जनाइएको छ ।
बिरामी बुबाको कुरुवा बसेका कृष्णले बिरामी जाँच गरेर बाहिर निस्किने क्रममा डाक्टरमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । कृष्णको आक्रमणबाट डाक्टर भट्टको मुखमा चोट लाग्नुका साथै चश्मा फुटेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : जनमञ्च, स्वास्थ्य
प्रतिक्रिया