ल्याबमा उत्पादित दूध अब सुपरमार्केटमा उपलब्ध

हालैका वर्षहरूमा प्रविधिले विभिन्न क्षेत्रमा व्यापक परिवर्तन ल्याएको छ । अब दूध उत्पादनको क्षेत्रमा पनि वैज्ञानिक उपलब्धिहरू देखिन थालेका छन् । अमेरिकी स्टार्टअप ब्राउन फुड्सले ‘अनरियल मिल्क’ (UnReal Milk) नामक प्रयोगशालामा उत्पादित सम्पूर्ण गाईको दूध बजारमा ल्याउने तयारी गरिरहेको छ ।
यस प्रविधिको मुख्य उद्देश्य जलवायु परिवर्तनसँग सम्बन्धित समस्याहरू न्यूनीकरण गर्नु रहेको बताइन्छ । संयुक्त राष्ट्रसंघका वातावरण तथा कृषि सम्बन्धी संगठनहरू (IPCC र FAO) का अनुसार गाईहरूले दैनिक ५०० लिटरभन्दा बढी मिथेन ग्यास उत्सर्जन गर्छन्, जसले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको ३.७% भाग ओगट्छ । यही कारणले वैज्ञानिकहरू वैकल्पिक उपाय खोज्न सक्रिय भएका छन् ।
ब्राउन फुड्सका संस्थापकहरू सोहेल गुप्ता, भावना टण्डन र अभिजीत कपुरले तयार गरेको यो दूध स्तनधारी जीवहरूको कोषहरू प्रयोग गरी उत्पादन गरिन्छ । कम्पनीका अनुसार यसको उत्पादन प्रक्रियाले परम्परागत दूधको तुलनामा ८२% कार्बन उत्सर्जन, ९०% पानीको खपत र ९५% जमिनको प्रयोग घटाउँछ । साथै, यस दूधबाट बटर, चिज र आइसक्रिम समेत उत्पादन गर्न सकिने दाबी गरिएको छ ।
एमआईटीका प्राध्यापक तथा जैवप्रौद्योगिकी विशेषज्ञ डा. रिचर्ड ब्राट्जका अनुसार पहिलो संस्करणको ‘अनरियल मिल्क’ परीक्षण प्रक्रियामा छ । एमआईटी सम्बद्ध ह्वाइटहेड इन्स्टिच्युटले यसको संरचना परम्परागत दूधसँग मिल्दोजुल्दो रहेको पुष्टि गरेको छ । यसमा आवश्यक सबै प्रोटिन, ट्राइग्लिसराइड्स तथा कार्बोहाइड्रेटहरू रहेको प्रमाणित भएको छ ।
प्रयोगशालामा उत्पादित मासु तथा दुग्धजन्य पदार्थमा लगानी तीव्र रूपमा बढ्दै गएको छ । सन् २०२२ मा प्रयोगशालामा उत्पादित मासु उद्योगमा मात्र २ अर्ब डलर लगानी भएको थियो । ‘द इन्साइट पार्टनर्स’ का अनुसार २०२३ मा ३१.१३ अर्ब डलरको मूल्य रहेको दुग्ध विकल्प बजार २०३१ सम्ममा ७०.६ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । कतिपय विश्लेषकहरूका अनुसार भविष्यमा प्रयोगशालामा उत्पादित दूधले परम्परागत ८९३ अर्ब डलरको डेरी बजारको ३३५ हिस्सा ओगट्न सक्ने सम्भावना छ ।
यस प्रविधिको विकासमा बिल गेट्स र इजरायली कम्पनीहरूको विशेष रुचि देखिएको छ । इजरायली कम्पनी ‘इमाजिनडेरी’ ले हालै १५ मिलियन डलरको लगानी संकलन गरिसकेको छ भने ‘मोटिफ फुडवर्क्स’ ले २२६ मिलियन डलरको लगानी आकर्षित गरेको छ । इजरायल प्रयोगशालामा उत्पादित दूध र मासु प्रविधिमा विश्वकै अगुवा बन्न खोज्दैछ ।
अमेरिका र इजरायल मात्र नभई अन्य देशहरू पनि यो प्रविधिमा लागिपरेका छन् । जर्मन स्टार्टअप सेनारा र इजरायली कम्पनी विल्कले बायोटेक्नोलोजीको प्रयोग गरी पारंपरिक दुग्ध उत्पादनमा सुधार ल्याउने प्रयास गरिरहेका छन् । चिलीको ‘नटको’ नामक कम्पनीले कृत्रिम बौद्धिकता (AI) को प्रयोग गरी विभिन्न वनस्पति संयोजनबाट दूध उत्पादन गर्ने प्रविधिमा अनुसन्धान गरिरहेको छ ।
प्रयोगशालामा उत्पादित दूधको प्रयोग नाबालकहरूका लागि पनि गर्न सकिन्छ । अमेरिकी कम्पनी ‘बायोमिल्क’ ले २०१९ मा स्थापना भएदेखि नै मानव स्तनदूधको विकल्प उत्पादन गर्ने प्रयास गरिरहेको छ । कम्पनीकी सह-संस्थापक तथा ऋभ्इ मिशेल एगरका अनुसार यो प्रविधिले दुध उद्योगमा निर्भरता घटाएर जलवायु संरक्षणमा मद्दत पुर्याउनेछ ।
प्रयोगशालामा उत्पादित दूध प्रविधिले भविष्यमा डेरी उद्योगमा ठुलो प्रभाव पार्न सक्छ । कतिपय विज्ञहरूले भने यसलाई अति प्रशोधित खाना (Ultra-Processed Food) को रूपमा व्याख्या गर्दै स्वास्थ्यका लागि चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिएका छन् । अबको प्रश्न के हो भने के उपभोक्ताहरूले परम्परागत दूधको सट्टा प्रयोगशालामा उत्पादित दूधलाई सहज रूपमा स्वीकार गर्नेछन् त ?
क्याटेगोरी : स्वास्थ्य
प्रतिक्रिया