Techie IT
Samayabaddha
बुधबार, १२ चैत्र, २०८१

सुदूरपश्चिम प्रदेशमा साढे तीन हजारभन्दा बढी क्षयरोगी


धनगढी, ११ चैत । सुदूरपश्चिम प्रदेशमा साढे तीन हजारभन्दा बढी क्षयरोगी रहेको तथ्यांक सार्वजनिक भएको छ। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय कैलालीले सञ्चारकर्मीसँग गरेको अन्तरकृया कार्यक्रममा तथ्यांक प्रस्तुत गरिएको छ।

सुदूरपश्चिममा आर्थिक वर्ष २०८००८१ मा तीन हजार ६ सय १२ जना क्षयरोगी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। अझै लक्ष्यअनुसार बिरामी पत्ता लगाउन नसकिएको स्वास्थ्य निर्देशनालयका क्षयकुष्ट अधिकृत मनोजप्रसाद ओझाले बताए ।

उनका अनुसार प्रत्येक वर्ष ६३७१ जनाको दरले नयाँ बिरामी थपिनुपर्छ। सुदूरपश्चिममा सबैभन्दा बढी क्षयरोगका बिरामी कैलाली र कञ्चनपुर रहेको उनले बताए ।

जनचेतनको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै पनि क्षयरोगका बिरामी उपचारको पहुँच बाहिरै रहेका छन् । ओझाका अनुसार सरकारले क्षयरोग विरुद्धको औषधि निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ ।

क्षयरोग नियमित उपचारले निको हुने गर्दछ । तरपनि जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै नआउने गरेका छन् ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले व्यवस्थापन पक्ष केही फितलो र आफूहरू त्यसमा चुकिरहँदा लक्ष्यअनुसारको काम हुन नसकेको बताए। उनले भने(विश्वमा भारत चिनमा क्षयरोगको संक्रमणको अवस्था उच्च रहेको देखिन्छ।

विश्वमा १ करोड ८ लाख क्षय रोगका बिरामी पत्ता लागेकोमा १२ लाख ५० हजारको क्षयरोगकै कारण मृत्यु हुने गरेको विवरण रहेको छ। नेपालमा भने ४० हजार ७ सय ७५ जना पत्ता लागेकोमा झण्डै १८ हजारको क्षयरोगका कारण मृत्यु भएको तथ्याङ्क रहेको छ।

क्षयरोग एक सरुवा रोग हो। जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ।

नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन्। हुन त क्षयरोगमा देखिने प्रारम्भिक लक्षण अन्य रोगमा पनि देखिन्छन्। तर दुई हप्ताभन्दा बढी लगातार खोकी लागिरहेमा भने खकार जाँच गरेर क्षयरोग हो कि होइन भन्ने थाहा पाउन सकिन्छ।


क्याटेगोरी : प्रदेश खबर, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट