Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

भारतका विदेशमन्त्रीले भने– नेपालसँग सम्बन्ध राम्रो रहेको व्यापारबाटै थाहा हुन्छ


भारतका विदेशमन्त्री एस जय शंकरले नेपालसँग भारतको सम्बन्ध राम्रो रहेको बताएका छन् । नयाँ दिल्लीस्थित एक विद्यालयमा एक छात्राले राखेको प्रश्नको जवाफमा मंगलबार उनले उक्त कुरा बताएका हुन् । ती छात्राले नेपालसँग पहिला भारतको राम्रो सम्बन्ध रहेकोमा अहिले नेपाल चीनबाट प्रभावित भएको भन्ने बारेमा प्रश्न उठाएकी थिइन् ।

त्यसको जवाफमा उनले विद्यार्थीलाई प्रेसको मात्रै विश्वास नगर्न आग्रह गर्दै प्रेसले राम्रो कुरा नलेख्ने र नराम्रो कुरालाई मात्रै उठाउने गरेको बताए । उनले पछिल्लो पटक आफू जनवरीमा नेपाल गएको स्मरण गर्दै पहिलो पटक सन् २०१५ मा नेपालमा गएको समेत स्मरण गरेका थिए । उनले दश वर्षअघि २०१५ मा नेपाल गएको बेलामा भारतबाट नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति ट्रकबाट सीमासम्म गएर ट्रकमा हुने गरेको जनाउँदै त्यसपछि भारतले पेट्रोलियम पाइप लाइनबाट पठाउने व्यवस्था गरेको जानकारी दिए ।

उनले ट्रकबाट ट्रकमा पठाउँदा खर्चिलो र नेपालमा ‘सर्टेज’ पनि हुने गरेकोमा पाइपबाट पठाएपछि सहज भएको र भारतले नै पाइपलाइन जोडी रिफाइनरी गरेर पेट्रोलियम पदार्थ पठाउने गरेको जानकारी दिए ।

उनले नेपाल र भारतबीच विद्युत् आदाप्रदानका लागि ग्रिडको निर्माण भएको र दुवै देशले एकअर्का देशमा विद्युत् पठाएको उल्लेख गर्दै दिनभरी कहिलेकाहीँ हप्तादेखि महिना दिनसम्म पनि पावर ब्रेकडाउनको अवस्था दुवै देशमा भएकोमा त्यसमा अहिले व्यापक सुधार भएको बताए ।

उनले नेपालमा उत्पादित विद्युत् भारतले सोही ग्रिडबाट किनिरहेको जानकारी दिए । सीमा क्षेत्रको सडक पनि स्तरोन्नती हुनुका साथै रेलमार्ग पनि नेपालसँग जोडिएको तथा  चेकपोस्टको स्तरोन्नती भएको उनले बताए ।

विदेशमन्त्री शंकरले नेपालको भारतसँग कति व्यापार छ र अन्य छिमेकीसँग कति छ त्यो आफैँ तुलना गरेर हेर्न आग्रह गर्दै सम्बन्ध कस्तो छ भनेर पत्ता लगाउन पनि उनले अनुरोध गरे । ‘यसबाट तपाईंले धेरै फरक जवाफ पाउनुहुनेछ’ विदेशमन्त्रीको भनाइ थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट