बेइजिङविरुद्ध घृणा फैलाएको आरोपमा हङकङमा ६ जना पक्राउ
बेइजिङविरुद्ध घृणा फैलाएको आरोपमा हङकङमा ६ जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत बेइजिङविरुद्ध घृणाका लागि उक्साएको अभियोगमा हङकङको सुरक्षा कानुनअनुसार उनीहरूलाई पक्राउ गरिएको दाबी गरिएको छ । पक्राउ पर्नेमा पाँच महिला र एक पुरुष रहेको जनाइएको छ । पक्राउ पर्नेमा अभियन्ता चोउ हाङ तुङ पनि छन् । उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो ।
अधिकारीहरूका अनुसार सो समूहले ४ जुनको तेयनम्यान स्क्वायर वार्षिकोत्सवको सन्दर्भमा मेसेज पोस्ट गरेका थिए । यदि दोषी सावित भएमा नयाँ ल्याइएको कानुन आर्टिकल २३ अनुसार सात वर्षसम्मको जेल सजाय हुने जनाइएको छ ।
सो कानुन प्रो–बेइजिङ संसद्ले गएको मार्चमा फास्ट ट्रयाकमा ल्याइएको हो । यसले देशद्रोह, राजद्रोह र राज्यको गोपनीयतालाई सम्बोधन गरेको छ र त्यसको सुनुवाईका लागि बन्द इजलासको सुविधा समेत उपलब्ध हुन्छ ।
यो विषय बेइजिङले सन् २०२० मा ल्याएको राष्ट्रिय सुरक्षा कानुनको विस्तृतीकरण हो । दशकौंसम्म हङकङ मात्रै एउटा यस्तो सहर हो जहाँ तेयानमेनको सम्झनामा कार्यक्रम गर्न अनुमति रहेको छ । सहरको अर्धस्वायत्त आर्थिक तथा राजनीतिक र कानुुनी व्यवस्थाअनुसार ‘एक देश, दुई प्रणाली’को रूपमा सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गर्दा तय गरिएको थियो ।
१९८९को कार्यक्रम शान्तिपूर्ण रूपमा भए पनि त्यसलाई बेइजिङले ट्यांक र सेना प्रयोग गरी दबाएको थियो । सन् २०२० देखि त्यसको सम्झनामा कार्यक्रम गर्न पनि रोक लगाइएको थियो । साउथ चाइना मोर्निङ पोस्टका अनुसार मंगलबारको अभियोग पहिलाको इभेन्टको सम्झनामा शृंखलाबद्ध रूपमा फेसबुक समूहहरूमा घृणा फैलाइएको दाबी गरिएको छ ।
सुरक्षासम्बन्धी सचिव क्रिस ताङलाई उद्धृत गर्दै साउथ चाइना मोर्निङ पोस्टले जनाएअनुसार सो पोस्टले केन्द्रीय सरकार, हङकङ सरकार र त्यहाँको न्यायपालिकामा घृणा फैलाएको छ । यसभित्र रहेको घृणाको प्रसंग अपराधको कारण भएको उनले जनाएका छन् ।
यसैबीच, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले सो गिरफ्तारीको आलोचरना गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया