Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

बंगलादेशमा हसिनाको सत्ता पतन दक्षिण एसियाको नयाँ समीकरणको पूर्वाभ्यास ?


२१ साउन, २०८१ का दिन, डेढ दशकपछि बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेको छ । निर्वाचनबाट सत्ताको बागडोर सम्हाल्दै आएकी हसिनाले ज्यान जोगाउन हेलिकप्टरबाट भारततर्फ गइन ।

सेना प्रमुखले अन्तरिम सरकारको गठन हुने टेलिभिजन सन्देश दिएपछि प्रदर्शनकारीहरूले खुशियाली मनाउन थालेका छन् भने प्रधानमन्त्री निवासलगायतका क्षेत्रमा लुटपाटका घटना पनि सार्वजनिक भइरहेका छन् ।

हसिनाको राजीनामा आउनुअघि बन्द गरिएका इन्टरनेट सेवा सुचारु हुन थालेका छन् भने प्रहरी तथा सुरक्षाकर्मीहरूलाई धनजनको क्षति रोक्न परिचालन गरिएको छ ।

सोमबार साँझ यो समाचार तयार पारिरहँदा ढाकाका तीन ठाउँमा सुरक्षाकर्मीहरू र स्थानीयहरूबीच भिडन्त भइरहेका समाचार पनि सार्वजनिक भइरहेका छन् ।

सेनाले भने अनुसार अन्तरिम सरकार गठन भई नसकेको र त्यसको घोषणा बाँकी रहेकाले यस्ता घटनामा एकाएक कमी नआउने भएकाले यस्ता समाचार सार्वजनिक भइरहेका छन् ।

सन् २००९ देखि सत्तामा निरन्तर रहँदै आएकी हसिनाले आफ्नो १५ वर्षे शासनमा शक्तिको दुरूपयोग गरेको आरोप खेप्दै आएकी थिइन ।

७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेर आइन् । गत जनवरीमा भएको चुनाव विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीले बहिस्कार नै ग¥यो ।

अहिले आरक्षण विरूद्धको प्रदर्शनमा पनि प्रदर्शनकारीको आवाज अवज्ञा गरी गरेको बल प्रयोगपछि आन्दोलन उग्र रूप लियो ।

आइतबार मात्रै त्यहाँ घटीमा ९० जनाले ज्यान गुमाएका थिए । यस आरक्षण विरूद्धको प्रदर्शनमा मात्रै तीन सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रदर्शनकारीहरू सोमबार प्रधानमन्त्री निवास गणभवनमा समेत प्रवेश गरे । त्यहाँ लुटपाट मच्चाइयो ।

प्रधानमन्त्री हसिनाले राजीनामा दिएसँगै बंगलादेशका सेना प्रमुख वाकेर–उज–जमनले विभिन्न राजनीतिक दलका प्रमुखसँग छलफल गरी अन्तरिम सरकार बन्ने घोषणा गरे ।

बिग्रिँदै गइरहेको स्थितिलाई नियन्त्रणमा लिन सेनाले देशबासीका नाममा सम्बोधन गर्ने खबर सार्वजनिक गरिए । तर, त्यो ढिला भयो । सम्भवतः सेना प्रमुख वाकेरले अन्तरिम सरकार बनाउन विपक्षी दलका नेताहरू लगायत राजनीतिलाई ठीक ठाउँमा ल्याउन विभिन्न राजनीतिक शक्तिहरूसँगको छलफलमा व्यस्त हुँदा उनको निर्धारित टेलिभिजन सम्बोधन ढिला भयो ।

टेलिभिजन सम्बोधनमा सेना प्रमुखले राजनीतिक संकटको निकास आजै साँझसम्म हुने गरी सम्बोधन गरे ।

अन्तरिम सरकार बन्ने बताए पनि कसको नेतृत्वमा बन्ने त्यसको खुलासा आफ्नो टेलिभिजन सम्बोधनमा नगरेकाले पनि राष्ट्रपति भवन गएर थप छलफल गर्नुपर्ने कुरो बाँकी रहेको बुझियो ।

भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकार विरोधी आन्दोलनमा परिणत भएर यत्रो उग्र भयो कि हसिनाको सत्तालाई ढाल्ने अस्त्र बन्न पुग्यो ।

जुन जुलाईको यो आन्दोलन अगस्ट ५ सम्म आइपुग्दा प्रधानमन्त्री हसिनालाई सत्ताच्युत गरायो । उनलाई राजीनामा दिई ज्यान जोगाउन भारततर्फ हिँडन प¥यो ।

आइतबार ठूलो संख्यामा हताहती भएको थियो । सरकारले देशव्यापी अनिश्चितकालीन कर्फ्यु जारी ग¥यो । साथै इन्टरनेट सेवा पनि बन्द गरियो । सोमबारसम्म सबै सरकारी कार्यालयहरूमा पनि बिदा घोषणा गरियो ।

तर, प्रदर्शनकारीको आन्दोलनको वेगमा आमजनता ओर्लिएको देखियो । राजधानी ढाकामा मानिसहरू ओर्लिएर प्रधानमन्त्री निवासतर्फ डोरिएको जनउभार रोक्न प्रयास गरिए । तर, सकिएन ।

आरक्षण विरोधी विद्यार्थीहरूको आन्दोलनलाई प्रधानमन्त्री शेख हसिनाले आतंकवादी भएको टिप्पणी समेत गरिन् । सम्भवतः आतंकवादी टिप्पणीले आन्दोलनलाई मत्थर पार्नु भन्दा पनि उग्र बनायो । इन्टरनेट बन्द गरिएको अवस्थामा राजधानी ढाकामा प्रदर्शनकारीको विशाल उपस्थितिले सोमबार हसिनालाई सत्ताबाट पलायन गर्न बाध्य पा¥यो ।

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सैनिकका सन्ततीहरूलाई जागिरमा ३० प्रतिशत आरक्षण दिने नीति ल्याएपछि विद्यार्थीहरू आन्दोलित भए ।

जुलाइ पहिलो साता बंगलादेशको उच्चअदालतले पनि सरकारको पक्षमा फैसला गरेपछि आन्दोलन झन् चर्कियो । अनि विस्तारै हिंसात्मक बन्दै गयो ।

जुलाई तेस्रो साता उच्चअदालतको आदेश उल्ट्याउँदै बंगलादेशको सर्वोच्च अदालतले ३० प्रतिशतको आरक्षणलाई ५ प्रतशित बनाउन आदेश दियो ।

त्यस्तै एक प्रतिशत जनजाति समुदाय र एक प्रतिशत अपांगता भएका वा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका रूपमा पहिचान भएकाहरूलाई छुट्याउन पनि आदेश दियो ।

९३ प्रतिशत भने मेरिटको आधारमा बनाउन आदेश दिएर सर्वोच्चले नै सरकारको निर्णयमा ब्रेक लगाइ विद्यार्थीहरूलाई आन्दोलन फिर्ता लिन भन्यो ।

आन्दोलनकारीलाई घर फर्किन भने पनि त्यतिखेर २०० जना भन्दा बढी मानिसको मृत्यु भइसकेको थियो । सयौं घाइते र त्यही हाराहारीमा पक्राउ परिसकेका थिए ।
विद्यार्थीहरूले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइते विद्यार्थीको सरकारले उपचार गरिदिनुपर्ने लगायतका माग राख्दै आन्दोलन फिर्ता नलिई जारी राखे । सुरुदेखि विद्यार्थीे आन्दोलनलाई अनदेखा गर्दै आएकी प्रधानमन्त्री हसिनाले सेना लगाएरै तह लगाउने प्रयास गरिन ।

सर्वोच्चको आदेशले हसिनाको निर्णयलाई उल्ट्याइ दिएको भए पनि आन्दोलनकारीले अगाडि सारेको क्षतिपूर्तिसम्बन्धी मागको बेवास्ता गरेपछि अन्ततः प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई एजेण्डा बनाइयो ।

उनीहरूले देशभरका नागरिकलाई कर नबुझाउन आह्वान गरे । विद्यार्थीहरूको आन्दोलनमा समाजका अन्य तह र तप्काका मानिसहरू पनि सामेल हुँदै गए ।

आन्दोलनकारीले प्रधानमन्त्री निवास घेर्ने बाटोमा हिँडेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको भिडन्त र झडप भए ।

चर्किदै गइरहेको आन्दोलन सामना गर्न नसक्ने देखेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छिमेकी भारतमा सुरक्षित आश्रयस्थलको खोजीमा जाने निर्णय गरिन ।

भारतमै जानुको पछाडि हसिनाको सम्बन्ध पछिल्लो भारत सरकारसँग राम्रो रहेको देखियो । त्यसै पनि भारत बंगलादेशको सहयोगी रही आएकोमा थप हसिनाको सम्बन्ध भारतसँग राम्रै रहेको थियो ।

हसिनाले भारतका लागि सहयोग गरेकी थिइन् । बंगलादेशसँग जोडिएका भारतीय प्रान्तहरूमा चरमपन्थीहरूलाई तह लगाउन हसिनाले सहयोग गरेकोले भारतसँग राम्रो सम्बन्ध बनेको विश्लेषकहरूको भनाइ रहेको छ ।

सन् १९९६ मा पहिलो पटक निर्वाचित भएदेखि नै भारतसँग घनिष्ठ सम्बन्ध कायम गरेकी हसिनाले ढाकाको दिल्लीसँगको घनिष्ठ सम्बन्धलाई सधैं जायज भन्दै आएकी थिइन् ।

सन् २०२२ मा भारतको भ्रमण गरेका बेला हसिनाले सन् १९७१ को स्वतन्त्रता संग्राममा भारतले गरेको सहयोगबारे अभिव्यक्ति दिएर भारत विरोधी मानसिकतालाई शान्त पार्ने काम गरेकी थिइन् ।

तर, दिल्लीसँगको उनको निकटता र भारतले उनलाई गरेको समर्थन त्यहाँका विपक्षी दललगायतलाई मन परेको थिएन । उनीहरूले भारतको सहयोग, समर्थन कुनै पार्टी विशेषलाई नभएर बंगलादेशलाई गर्नुपर्ने र हुनुपर्ने बताएका थिए ।

असन्तुलित विदेश नीति
बंगलादेशमा भएको पछिल्लो राजनीतिक उथलपुथलमा केवल आरक्षणमात्र हो कि वाह्य पक्ष पनि जोडिएको छ भन्नेमा बहस चलिरहेको छ । सामाजिक सञ्जालमा अहिले यसमा विदेशी शक्ति पनि जोडिएको हुनसक्ने चर्चा चलिरहेको छ ।
कतिपय कूटनीतिज्ञले यो भनिरहेका छन, बंगलादेशको सरकारले चीन र भारतसँगको सन्तुलन मिलाउन सकेन । अघिल्लो महिना चीन भ्रमणमा गएकी शेख हसिनाले तोकिएको समय पूरा नगरी फर्किन । उनलाई चीनले उचित सम्मान नगरेको महसुस भयो । चीनका राष्ट्रपतिसँग वैठक चाहेकी थिइन तर मिलाइएन ।

चीनबाट फर्किए लगत्तै शेख हसिनाले भारतको पक्षमा ठूलो काम गरिन । तीस्ता परियोजनामा चीन र भारत दुवैको चासो थियो तर उनले भारतलाई यो परियोजना दिने घोषणा गरिन । हसिना भारतततिर बढी झुकेको भनेर बंगलादेशमा नकारात्मक प्रभाव परेकै थियो । हसिनालाई दुवै देशसँग सन्तुलित सम्बन्ध नराखेर भारतको पक्षमा अनुचित सम्बन्ध राखेको आरोप उनले खेपिरहेकी थिइन ।
.


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट