बंगलादेशको सेन्ट मार्टिन टापु अमेरिका यस कारण चाहन्छ
बंगलादेशको लागि यो टापु महत्वपूर्ण रहनुको साथै बदलिँदै गएको भूराजनीतिक अवस्थामा दक्षिण एसियाको महत्व झन बढेर गएको छ ।
‘मैले शवको जुलुस नहेर्नु परोस भनेर राजीनामा दिएँ । उनीहरू विद्यार्थीको शवमाथि सत्तामा आउन चाहन्थे, तर मैले अनुमति दिइन, प्रधानमन्त्री पदबाट राजीनामा दिएँ ।’ हाल भारतमा बस्दै आएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिँदा भनिन ।
अमेरिकी विद्यार्थीहरूको लाशमाथि टेकेर बंगलादेशी सत्तामा आउन चाहेको बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले भनिन । आफूलाई सत्ताबाट हटाउनमा अमेरिकाको संलग्नता रहेको आरोप लगाउँदै उनले यस्तो बताइन् ।
अमेरिकाले किन सत्ताबाट हटायो भन्ने सवालको जवाफमा उनले दक्षिण एसियामा सामरिकरूपमा नियन्त्रण कायम गर्न महत्वपूर्ण मानिएको बंगलादेशको सार्वभौमसत्ता कायम रहेको सेन्ट मार्टिन टापु अमेरिकाले खोजेको थियो । अमेरिकाले सेन्ट मार्टिनमाथि आफ्नो कब्जा जमाएपछि बंगालको खाडीमा आफ्नो हैकम जमाउन चाहेको हो ।
आफू सत्तामा बस्न सेन्ट मार्टिन टापु दिन नचाहेको बताउँदै हसिनाले सत्तामा बस्नै चाहेको भए सेन्ट मार्टिन अमेरिकालाई समर्पण गरी बस्न सक्थेँ तर त्यस्तो नचाहेको बताइन । अमेरिकाले त्यहाँको कट्टरपन्थीहरूको भ्रममा नपर्न बंगलादेशी जनतालाई आग्रह पनि गरेकी छिन् ।
सेन्ट मार्टिन टापु मात्र तीन वर्ग किलोमिटरको सानो भूभाग हो । यो बंगालको खाडीको उत्तरपूर्वी क्षेत्रमा पर्छ । कोक्स बजार–टेकनाफ प्रायद्विपको कुनाबाट करिब नौ किलोमिटर दक्षिणमा पर्छ । बंगलादेशको सबैभन्दा दक्षिणी बिन्दुलाई यसले जोड्छ ।
यो म्यान्मारको उत्तरी पश्चिमी सामुद्रिक किनाराबाट करिब आठ किलोमिटरको दूरीमा रहेको पश्चिमको नाफ नदीको मुखमा पर्छ ।
यो टापु हजार वर्ष पहिले टेकनाफ प्रायद्विपको विस्तारको रूपमा प्रयोग गरिन्थ्यो । पछि यो प्रायद्विपको केही भाग डुब्यो । अनि प्रायद्विपको दक्षिणी भाग एक टापु बन्यो र बंगलादेशको मुख्य भूमिबाट छुट्टिन पुग्यो । यो टापु पहिलो पटक १८ औँ शताब्दीमा अरबका व्यापारीहरू आएर बसे । उनीहरूले यसलाई ‘जजिरा’ नाम दिए । ब्रिटिश शासनकालमा यस टापुको नाम चटगाउँका तत्कालीन डेपुटी कमिश्नर मिस्टर मार्टिनको नामबाट ‘सेन्ट मार्टिन आइल्याण्ड’ राखियो । टापुलाई स्थानीयले ‘नारिकेल जिन्जिरा’ पनि भन्छन् । यसको ‘नारिवल टापु’ हुन्छ । साथै यसलाई ‘दारुचीनी द्विप’ भन्दा यसको अर्थ ‘दालचिनी टापु’ हुन्छ । यो बंगलादेशमा मुंगा जस्तो मूल्यवान ढुंगा (कोरल)हरू भएको एक मात्र टापु हो ।
बंगलादेशको लागि यो टापु महत्वपूर्ण रहनुको साथै बदलिँदै गएको भूराजनीतिक अवस्थामा दक्षिण एसियाको महत्व झन बढेर गएको छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा उदाएको मात्र होइन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको पहिलो, दोस्रो देशको रूपमा रहेको छ । यस्तै विश्वको सबैभन्दा धेरै जनसंख्या भएको पहिलो, दोस्रो देशको रूपमा रहेको भारत पनि विश्वका ठूला अर्थतन्त्र भएको देशको रूपमा उदाइरहेको छ । हाल भारत चीनलाई जनसंख्यामा उछिनी सकेको भनिए पनि भारतले आफै जनगणना नगराएकाले भारत र चीनलाई पहिलो दोस्रो देशको रूपमा भनिएको छ ।
सबैभन्दा धेरै जनसंख्या भएको भारत र चीन आफैमा सबैभन्दा ठूलो बजार पनि हो । चीनसँग अमेरिकाले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको उत्तराद्र्धदेखि शुरु गरेको व्यापार युद्ध सञ्चालन गर्दै आएको छ । चीन र भारत उदीयमान शक्तिलाई तह लगाउन दक्षिण एसियाली देशहरूमा नेपाल र समुद्रसँग जोडिएका देशहरू महत्वपूर्ण रहेका छन् । अफगानिस्तानबाट शुरु गरेको अस्थिरता पाकिस्तान, श्रीलंका हुँदै बंगलादेशसम्म आइपुगेको छ ।
करिब १० वर्षको स्थिर सरकार भारतमा यो पटक अस्थिर हुन पुगेको छ । भारतमा भाजपाको स्थिर सरकारसँगै बंगलादेशमा पनि हसिनाको सरकार स्थिर हुँदै गइरहेको थियो । भाजपाको स्थिर सरकार अस्थिर भएसँगै बंगलादेशमा हसिनाको डेढ दशक पुरानो सत्ता ढलेको छ । बंगलादेशका संस्थापकको शालिक समेत ढालिएको छ ।
दक्षिण एसियामा राजनीतिक समीकरणको फेरबदलको प्रतिस्पर्धी वा मित्रवत प्रयास भइरहेको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएदेखि नै दक्षिण एसियामा नयाँ नयाँ राजनीतिक गतिविधिहरू शुरु हुन थालेको थियो ।
अफगानिस्तानबाट अमेरिकाले सेना फिर्ता गरेर चीन, भारत र रुसलाई सुरक्षातर्फको खर्च बढाउन लगाएको थियो । अफगानिस्तानमा चीन, भारत र रुसको चासो भूराजनीतिक अवस्था र भौगोलिक निकटताको कारण बढ्नु स्वाभाविक थियो । अमेरिकाले यहाँबाट आफ्नो सुरक्षा खर्चमा कटौती गर्ने नीति लिएको थियो । अमेरिकाले रुसलाई युक्रेनमा फसाएको छ भने चीनको सुरक्षा चासोलाई ताइवानमा बढाइदिएको छ । भारतलाई अफगानिस्तानपछि श्रीलंका र बंगलादेशको अस्थिरतामा फसाइ दिएको छ । अमेरिकाले चीनलाई घेरा हाली सिध्याउने दीर्घकालीन योजनालाई यही मेसोमा पूरा गर्नुपर्ने भएको छ । एकातर्फ अमेरिकी अर्थतन्त्र कमजोर हुँदै आएको भनाइ यही साता त्यहाँको शेयरबजारमा आएको ठूलो गिरावटबाट दर्शाएको थियो । भारतलाई उसका छिमेकीमा अस्थिरता कायम गरी अमेरिकाका लागि उपयोग गराउन सक्ने बिन्दुमा निहुराएर राजनीतिक लाभ लिने हुन सक्छ ।
अमेरिकी सत्ता भित्रको प्रतिस्पर्धा यो वर्ष नोभेम्बरमा मुखर भएर आउने देखिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको समर्थनमा उपराष्ट्रपति कमला ह्यारिस पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिस्पर्धामा उत्रेकी छिन् । ट्रम्पको विरुद्धमा कमला ह्यारिस प्रतिस्पर्धामा उत्रेकी मात्र छैनन् कि नयाँ एजेन्डा लिएर उत्रेकी छिन् । त्यो भनेको इजरायलप्रतिको कट्टर समर्थनमा लचकता अपनाउने नीति अगाडि सारेकी छिन् ।
यो विषय अमेरिकी सत्ताका प्रतिस्पर्धीहरूबीचको महत्वपूर्ण मुद्दा अगाडि आएको विज्ञहरूको बुझाइ रहेको छ । यसका साथै अमेरिकाले रुस युक्रेन युद्धलाई कति लामो तानेर लाने हो त्यसबारे पनि अमेरिकी सत्ताले यही बेला विचार गर्ने हो । जेसुके गरे पनि विश्वको सबैभन्दा ठूलो बजार चीन र भारतसहितको दक्षिण र दक्षिणपूर्व एसियाली बजार रहेको छ । यस बजारमा टिक्नका लागि अमेरिकाले आफ्नो उपस्थितिलाई बलियो नबनाए आगामी समयमा हुने विश्वशक्तिहरूबीच हुने बाँडफाँटमा बार्गेन गर्ने तागत नआउने कुरो राम्ररी बुझेको छ ।
त्यसैले होला भारतको भूमिबाट बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाले कट्टरपन्थीहरूको उक्साहटमा नलाग्न, आफ्नो भिडियो बङ्ग्याइएको हेर्न भन्दै आफू बंगलादेश फर्किने भनेकी छिन् । डेढ दशक लामो सत्तामा बसेकी हसिना विश्वका शक्तिशाली देशहरूको विश्व भागबण्डामा सहजै मूल्यहीन भएर जानेमा भूराजनीतिक विषयका विज्ञहरू बताउँछन् । त्यतिञ्जेलका लागि अमेरिकाको राष्ट्रपति पदको निर्वाचन परिणाम र त्यसपछिका अमेरिकी बाटोलाई कुर्नुपर्ने छ ।
यहाँ उल्लेखनीय कुरा के हो भने शक्ति राष्ट्रहरु आफ्नो स्वार्थमा सदैव लागिरहन्छन । तर, जनतालाई विश्वासमा लिन नसक्ने, भ्रष्ट, तानाशाही शासककै मुख्य कारण नै बंगलादेशमा विद्यार्थी, युवाहरुको आन्दोलन भएको कुरालाई अनदेखा गरिनु वेठीक हुन्छ । आफ्नो गलत कर्तुत छोप्न वाह्य शक्तिलाई दोषारोपण गरेर आफू पानीमाथिको ओभानो बन्ने अलोकप्रिय शासकको कुरा किमार्थ सही होइन । वैकल्पिक राजनीतिक शक्तिको अभावमा बंगलादेशको गौरवपूर्ण आन्दोलन पनि तावाको माछा भुंग्रोमा पर्ने खतरा भने जीवित छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया