रुसी राष्ट्रपति पुटिन र जर्मन चान्सलर स्कोल्जबीच दुई वर्षपछि पहिलोपटक कुराकानी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मन चान्सलरबीच दुई वर्षपछि पहिलोपटक टेलिफोनमा कुराकानी भएको छ । सन् २०२२ को डिसेम्बरपछि हिजो पहिलो पटक पुटिन र जर्मन चान्सलर ओलाफ स्कोल्जबीच कुराकानी भएको बीबीसीले जनाएको छ ।
झण्डै एक घण्टा लामो कुराकानीमा युक्रेन युद्ध अन्त्यको विषयले प्राथमिकता पाएको छ । जर्मन चान्सलर स्कोल्जले उत्तर कोरियाली सैनिकलाई युक्रेनविरुद्धको लडाइमा प्रयोग गरेकोबारे आपत्ति जनाउँदै यसले क्षेत्रीय युद्धलाई थप बढाउने बताएका थिए ।
पुटिनले भने उत्तर कोरियाका सेना रुसको पक्षमा लडिरहेको कुरा सत्य नभएको जवाफ दिएका छन् । यस्तै, स्कोल्जले युक्रेनबाट सेना फिर्ता गरेर शान्ति वार्ताको सुरुवात गर्न पुटिनलाई आग्रह गरेका छन् ।
पुटिनले भने युक्रेनमा नेटोको आक्रामक विस्तार गरेर रुसलाई घेराबन्दीमा पार्ने योजनालाई सफल हुन नदिने अडान लिएको खबरमा उल्लेख छ । लामो समयदेखि चलिरहेको नेटोको आक्रामक नीतिहरूको प्रत्यक्ष परिणाम नै युक्रेन युद्ध भएको उनको भनाइ थियो ।
रुसविरुद्ध नेटोको विस्तार रोकिने ग्यारेन्टी भएमा मात्रै अहिलेको युद्ध रोकिने पुटिनको भनाइ छ । वार्तालाई पुनः शुरू गर्न रुस सधैँ खुला रहेको पनि पुटिनले जानकारी दिएका छन् ।
पुटिनले रुसले जर्मनीको ऊर्जा क्षेत्रमा आफ्नो प्रतिबद्धता सधैँ पूरा गरेको र जर्मनीले चासो व्यक्त गरेमा पारस्परिक सहयोगका लागि तयार रहेको जनाएका छन् । दुई जना नेताले मध्यपूर्वको तनाव कम गर्ने विषयमा पनि कुरा गरेका रुसी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
युक्रेन युद्धमा सबैभन्दा ठूलो आर्थिक र सैन्य सहयोग अमेरिकापछि जर्मनीको रहेको छ । तर रुसलाई सहयोग गरेर देशलाई टाट पल्टाउने काम भइरहेको भन्दै जर्मनीभित्र चर्को विरोध भइरहेको छ । आउँदो फेब्रुअरीमा हुने चुनावमा यो मुद्दाले ठूलो रूप लिने देखिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया