बाइडेनले आउँदो जनवरी २० अगाडि नै तेस्रो विश्वयुद्धको घोषणा गर्नेछन् : डोनाल्ड ट्रम्प जुनियर
संयुक्त राज्य अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले आफ्नो बाबुले राष्ट्रपतिको सपथ लिनु अघि नै अमेरिकाले तेस्रो विश्वयुद्धको घोषणा गर्न लागेको दावी गरेका छन् ।
अमेरिकामा जनवरी २० तारिखमा नयाँ राष्ट्रपति ट्रम्पले सपथ लिदैंछन् । नयाँ राष्ट्रपतिलाई सत्ता हस्तान्तरणको तयारी भैरहेको बेला काम चलाउ सरकारका राष्ट्रपति जो बाइडेनले युद्धरत युक्रेनलाई रुस विरुद्ध अमेरिकामा निर्मित लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिएपछि जुनियर ट्रम्पले त्यस्तो दावी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्—मेरा बुवाले शान्ति स्थापना गर्नु र मानिसहरूको ज्यान जोगाउनुअघि नै सैन्य औद्योगिक भवनले तेस्रो विश्वयुद्ध सुरु गराउला जस्तो देखिँदै छ । सैन्य औद्योगिक भवन भनेर उनले जो वाइडेन र रक्षा मन्त्रालयलाई संकेत गरेका हुन् ।
कामचलाउ राष्ट्रपतिको रुपमा शासन गरिरहेका जो बाइडनले अमेरिकाले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न दिने अनुमति युक्रेनलाई दिएपछि रुस युक्रेन युद्ध थप चर्किने भन्दै अमेरिका भित्रै तीब्र विरोध भैरहेको छ । आफ्ना छोरा जुनियर ट्रम्प सहित आफू नजिकका व्यक्तिहरुले वाइडेनको कदमको तीब्र विरोध गरे पनि निर्वाचित राष्ट्रपति ट्रम्पले भने अहिलेसम्म त्यसबारेमा कुनै टिप्पणी गरेका छैनन् ।
अमेरिकाले अनुमति दिएपछि अब युक्रेनले रुसी भूभागभित्र पनि अमेरिकी मिसाइलबाट सोझै प्रहार गर्न सक्छ । युक्रेनलाई उपलब्ध गराइएका सबैभन्दा शक्तिशाली क्षेप्यास्त्रमा लकहीड मार्टिन व्यालिस्टिक नामक मिसाइल पनि पर्छ । यो अमेरिकी व्यालिस्टिक क्षेप्यास्त्रले ३०० किलोमिटर टाढाको दूरीसम्म प्रहार गर्न सक्ने बताइएको छ । त्यसको अर्थ अब युक्रेनले रुसको राजधानी मस्को सहितका भित्री शहरहरुमा समेत मिसाइल आक्रमण गर्न सक्ने र त्यसबाट युद्ध थप चर्किन सक्ने आंशका गरिएको छ । जुनियर ट्रम्पले सामाजिक संजालमा लेखेको कुराले पनि त्यही कुरा पुष्टि गर्छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पटक पटक माग गरे पनि यस अघि बाइडनको प्रशासनले अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) बाट रुसमाथि आक्रमण गर्न अनुमति दिएको थिएन । केवल रुसी आक्रमणलाई युक्रेनी भूभागमा निस्तेज गर्न मात्रै अनुमति दिइएको थियो ।
ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहयोग उपलब्ध नगराउने अनुमान गरिएको छ । तर उनले राष्ट्रपति पद सम्हाल्नुभन्दा दुई महिनाअघि बाइडन प्रशासनले आफ्नो नीति उल्ट्याउँदै अस्त्र प्रयोगको अनुमति दिएको हो ।
अमेरिकाले यसको अनुमति दिएपछि अब बेलायत र फ्रान्सले पनि युक्रेनलाई आ आफ्नो देशमा बनेका क्षेप्यास्त्र रुसी भूभागभित्र प्रहार गर्ने अनुमति दिन सक्ने आशंका गरिएको छ । त्यसो भएमा युद्ध थप भड्किने निश्चित प्रायः छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो भूभागभित्र पश्चिमा देशमा बनेका हतियार प्रयोग नगर्न चेतावनी दिंदै आएका छन् । त्यो चेतावनीको वावजूद रुसमाथि पश्चिमा हतियारको प्रयोग गरेर आक्रमण गरिए त्यसको परिणाम निकै घातक हुने चेतावनी उनले दिइरहेका छन् । उनको चेतावनीलाई कतिपय विश्लेषकहरु रुसले आणविक हतियार प्रयोग गर्न सक्ने आशंकाको रुपमा समेत लिएका छन् ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्प, उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्ससहित ट्रम्पका धेरै शीर्षस्थ अधिकारीहरूले अमेरिकाले युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउनु नहुने बताएका छन् । तर, उनीहरुले सत्ता सम्हाल्नु अगाडि नै बाइडेनले युद्धलाई प्रश्रय गर्ने गरि अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएपछि रुस युक्रेन युद्ध नयाँ चरणमा प्रवेश गरेको छ । यो युद्धबाट जुनियर ट्रम्पले भनेजस्तो विश्वयुद्धको शुरुवात होला, नहोला तर त्यस्ले विश्वलाई फेरि एकपटक युद्धको छायाँमा धकेलिएको भने स्पष्ट छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया