रुस–युक्रेन युद्ध खतरनाक अवस्थामा : अमेरिकाले युक्रेनमा रहेको दूतावास बन्द गर्यो
यसैबीच अमेरिकाले युक्रेनमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गरेको छ । रुसबाट हुन सक्ने ठूलो आक्रमणलाई ख्याल गरेर दूतावास बन्द गरेको हो । युक्रेनमा रहेको अमेरिकी दूतावासले रुसबाट नोभेम्बर २० तारिखमा युक्रेनमाथि विशेष हवाई आक्रमण गर्न लागेको जानकारी प्राप्त भएको उल्लेख गरेको छ ।
रुसले युक्रेनी भूमिमा प्रवेश गरेर आक्रमण थालेको एक हजार दिन पूरा भएको छ । एक हजार दिन लगातार चलेको युद्ध समाधानभन्दा झनै बढ्ने सङ्केतहरू देखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
आक्रमण शुरू गरेको हजार दिन पुगेकै दिन हिजो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गरेका छन् । रुसको नयाँ नीति युक्रेन युद्धमा आणविक हतियारको प्रयोग गर्ने तयारीका रूपमा रहेको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकामा बनेका लामो दूरीका क्षेप्यास्त्र रुसी भूमिमा प्रयोग गर्न अनुमति दिएपछि आएको नीतिले युद्धलाई झनै खराब अवस्थामा पुर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अमेरिकाको अनुमतिसँगै युक्रेनले अमेरिकाले दिएका लामो दूरीका क्षेप्यास्त्र रुसी भूमिमा प्रहार गर्न थालेको छ । रुसले केही दिन अघिदेखि नै युक्रेनमा ड्रोन आक्रमणलाई तीव्र बनाएको छ ।
अहिले रुसी सेनाहरू युक्रेनको पूर्वतर्फ तीव्र गतिमा बढिरहेका छन् । उनीहरूलाई रोक्न उपयोगी हुने भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘एन्टी पर्सनल’ ल्यान्ड माइन उपलब्ध गराउने सहमति गरेका छन् । यही बीचमा रुसले आणविक घुम्ती सेल्टरहरू उत्पादन र ठाउँठाउँमा राख्ने क्रम बढाएको छ । यस्ता सेल्टरहरूले आणविक विस्फोटको विकिरण तथा आणविक प्रदूषणबाट जोगाउने रुसी सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच अमेरिकाले युक्रेनमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गरेको छ । रुसबाट हुन सक्ने ठूलो आक्रमणलाई ख्याल गरेर दूतावास बन्द गरेको हो । युक्रेनमा रहेको अमेरिकी दूतावासले रुसबाट नोभेम्बर २० तारिखमा युक्रेनमाथि विशेष हवाई आक्रमण गर्न लागेको जानकारी प्राप्त भएको उल्लेख गरेको छ ।
एक हजार दिनको युद्धमा झन्डै डेढ लाख रुसी सेना, झन्डै एक लाख युक्रेनी सेना र १२ हजार जनाभन्दा धेरै युक्रेनी नागरिक मारिएका विवरणहरू सार्वजनिक भए पनि स्वतन्त्र पुष्टि भएको छैन । युद्धका कारण युक्रेनबाट झन्डै ६५ लाख मानिस देश छाड्न बाध्य भएका छन् । ३७ ला जनाभन्दा धेरै मानिस देशभित्रै विस्थापित भएका छन् । युद्धका कारण युक्रेनले ठूलो भौतिक क्षति बेहोरेको छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएमा युद्ध रोक्ने बताए पनि उनको कार्यकाल शुरू हुने बेलामै युद्ध झनै खतरनाक अवस्थामा पुगेको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया