नेपाली अर्थतन्त्रको विकासमा चीन-भारतले सकारात्मक भूमिका खेल्नुपर्ने चिनियाँ विज्ञहरूको भनाइ
नेपालको आर्थिक विकास र जनजीवन सुधारमा चीन र भारतले प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिनुपर्ने चिनियाँ विज्ञहरूले उल्लेख गरेका छन् । यो भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा उठेको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल र चीनबीचको रणनीतिक साझेदारीलाई सुदृढ गर्न सहयोगको प्रतिबद्धता जनाउँदै नेपाललाई आफ्नो कूटनीतिक प्राथमिकतामा राखेको बताए । उनले नेपालसँगको सम्बन्धलाई उच्च गुणस्तरीय बनाउन बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गत यातायात, ऊर्जा र सञ्चार क्षेत्रमा सहकार्यको विस्तारको महत्व पनि व्यक्त गरे । नेपाल र चीनबीचको आर्थिक सहयोगका प्रयासले नेपालको भौतिक पूर्वाधार निर्माण, व्यापार वृद्धि, र सामाजिक-आर्थिक सुधारमा योगदान पुर्याएको छ । चिनियाँ विज्ञहरूका अनुसार नेपालले चीनको आर्थिक ‘एक्सप्रेस ट्रेन’ बाट लाभ उठाउँदै आफ्नो आर्थिक विकासको आधार बलियो बनाउन सक्छ । यद्यपि भारतसँग नेपालको ऐतिहासिक, भौगोलिक र सांस्कृतिक सम्बन्धको गहिराइका कारण, भारत नेपालको मुख्य आर्थिक साझेदार रहँदै आएको छ। नेपालले आफ्नो व्यापारको ६५ प्रतिशत हिस्सा भारतसँग गरिरहेको छ, जबकि चीनसँगको व्यापार १७ प्रतिशत मात्र रहेको छ । वास्तवमा नेपाल जस्ता साना देशहरूको विकासमा दुई छिमेकी शक्तिहरू—चीन र भारत—ले सहकार्य र सहिष्णुतापूर्ण दृष्टिकोण अपनाउनु आवश्यक छ । प्रतिस्पर्धात्मक दृष्टिकोणको सट्टा, सकारात्मक सहयोगमार्फत नेपालमा भौतिक पूर्वाधार विकास, रोजगार सिर्जना, र सामाजिक स्थिरता कायम गर्न दुबै देशले भूमिका खेल्न सक्छन् । नेपालले चीन र भारतको बीचमा सन्तुलन कायम राख्दै आर्थिक विकासका सम्भावनाहरूको सदुपयोग गर्नुपर्छ। यसले मात्र नेपालले दुवै देशबाट दीर्घकालीन फाइदा लिन सक्छ ।
चीन र भारतले नेपालसँगको सम्बन्धलाई साँघुरो दृष्टिकोणभित्र राखी प्रतिस्पर्धात्मक खेल खेल्नुभन्दा साझा छिमेकी नेपालको अर्थतन्त्रको विकास र जनताको जीविकोपार्जनमा सहयोग गर्न सकारात्मक भूभिका खेल्नु पर्ने चिनियाँ विज्ञहरूले टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चार दिने भ्रमणमा रहेका बेला त्यहाँका विज्ञहरूले यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै नेपालसँगको रणनीतिक साझेदारीलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । राष्ट्रपति सीले एउटै हिमाल र नदीले जोडिएका चीन र नेपाल असल छिमेकी, असल मित्र र असल साझेदार भएकाले द्विपक्षीय सम्बन्ध सुमधुर रहेको टिप्पणी गरे ।
आगामी वर्ष नेपाल चीनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाइने भएको छ । सीले चीनले नेपाललाई छिमेकी कूटनीतिमा महत्वपूर्ण स्थानमा राखेको र आफ्नो परम्परागत मित्रतालाई सुदृढ गर्न र चीनलाई अगाडि बढाउन नयाँ प्रगतिका लागि नेपालसँग काम गर्न इच्छुक रहेको बताए । विकास र समृद्धिको लागि चिरस्थायी मित्रता सहितको सहकार्यको नेपाल रणनीतिक साझेदारीबारे सीले प्रकाश पारेका थिए ।
चीनले आफ्नो राष्ट्रिय परिस्थिति अनुरूप विकासको मार्ग अवलम्बन गर्ने नेपालको छनोटलाई सम्मान गरेकोमा बताउँदै सीले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न चीनले सहयोग गर्ने विश्वास दिलाए । चीनले नेपालसँग रणनीतिक पारस्परिक विश्वास सुदृढ गर्न र एकअर्काको मुख्य हितका मुद्दाहरूमा दृढ समर्थन प्रदान गर्न नेपालसँग काम गर्न तयार रहेको उनले जनाए ।
सीले नेपालसँग व्यावहारिक सहयोगलाई गहिरो बनाउन, उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगलाई अगाडि बढाउन र बन्दरगाह, यातायात, पावर ग्रिड र सञ्चार जस्ता क्षेत्रमा सहयोग सुदृढ गर्न चीनको चाहना प्रकट गरे ।
नेपालको आर्थिक र सामाजिक विकासमा आफ्नो क्षमता अनुसार सहयोग गर्न र चिनियाँ उद्यमहरूलाई नेपालमा लगानी र व्यापार गर्न प्रोत्साहन गर्न चीन तयार रहेको जनाउँदै राष्ट्रपति सीले सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा गरेकोमा चीनले समर्थन गरेको र व्यापार, पर्यटन र अध्ययनका लागि चीन भ्रमणमा रहेका र आउन चाहनेहरूलाई स्वागत गरेको पनि उल्लेख गरे ।
चीनले विकासोन्मुख देशहरूको साझा हितको रक्षा गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघ जस्ता बहुपक्षीय मञ्चहरूमा नेपालसँग समन्वय सुदृढ गर्न इच्छुक रहेको पनि उनले जनाए ।
सीसँगको भेटमा ओलीले चीनको मित्र भएको नाताले चीनको उल्लेखनीय विकास उपलब्धिबाट र चीनको अनुभवबाट सिकेर नेपालले आफ्नो विकासलाई अघि बढाउन चाहेको बताए ।
नेपाल र चीनबीच कुनै समस्या नभएको मित्रता मात्रै रहेको उल्लेख गर्दै ओलीले नेपाललाई विभिन्न बहुमूल्य सहयोग गरेकोमा चीनलाई धन्यवाद दिए । उनले थप चिनियाँ उद्यमलाई नेपालमा लगानी गर्न र विभिन्न क्षेत्रमा सहयोगलाई अझ प्रगाढ बनाउन नेपालले स्वागत गरेको बताए ।
सिजाङ र ताइवान दुवै चीनको भूभागका अविभाज्य भाग भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल एक चीन सिद्धान्तमा दृढ रहेकोमा बताए ।
उनले कुनै पनि शक्तिलाई आफ्नो भूमि चीन विरोधी गतिविधि वा चीनको हितमा हानि पु-याउन नदिने बताए ।
जनवादी गणतन्त्र चीन र नेपालले मंगलबार संयुक्त विज्ञप्ति पनि जारी गरेको छ ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङ र नेशनल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीले पनि मंगलबार बेइजिङमा नेपाली प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।
सांघाई एकेडेमी अफ सोसल साइन्सेजको इन्सटिच्युट अफ इन्टरनेशनल रिलेसनका रिसर्च फेलो हु झियोङले जुलाईमा ओलीले पदभार ग्रहण गरेपछि भ्रमण गर्ने पहिलो विदेशी देशको रूपमा चीनलाई छनोट गर्दा नेपाल सरकारले चीनलाई धेरै महत्व दिएको भारतीय मिडियामा भएको आलोचनाको चिनियाँ विज्ञहरूले सही नभएको बताएका छन् ।
सिङ्हुआ विश्वविद्यालयको नेशनल स्ट्राटेजी इन्स्टिच्युटको अनुसन्धान विभागका निर्देशक छियान फेङले चीनको उच्च गुणस्तरीय आर्थिक विकासको ‘एक्सप्रेस ट्रेन’लाई नेपालले आफ्नो अर्थतन्त्रको मुख्य बिन्दु बनाउन खोजेको देखिएको जनाएका छन् ।
चीन र नेपालले सन् २०१७ को मे महिनामा बेल्ट एण्ड रोड इनिसिएटिभको रूपरेखा अन्तर्गत द्विपक्षीय सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । राष्ट्रपति सीले अक्टोबर २०१९ मा नेपालको राजकीय भ्रमण गरेका थिए ।
छियानले नेपालमा राजनीतिक परिवर्तन र महामारीको प्रभावका कारण दुई देशबीचका केही सहयोगलाई सहज रूपमा कार्यान्वयन गर्न नसकिएको देखिएको बताए ।
चिनियाँ नेताहरूसँग भेटघाट गर्नुका साथै नेपाली प्रधानमन्त्रीले नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने र पेकिङ विश्वविद्यालयमा मुख्य मन्तव्य दिने कार्यक्रम रहेको नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चीनका लागि नेपाल एक महत्वपूर्ण बीआरआई साझेदार मात्र नभई , निकट र मित्रवत् छिमेकीका रूपमा सिजाङका जातीय क्षेत्रहरूमा सामाजिक सुरक्षा र स्थायित्व कायम गर्न योगदान पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने छियानले भनेका छन् ।
ओलीको चीन भ्रमणलाई भारतीय सञ्चारमाध्यमले नजिकबाट नियालिरहेका छन् । ओलीको चीन भ्रमणलाई परम्परागतरूपमा भारतको पहिलो भ्रमणको सिलसिलालाई तोडेको भारतीय मिडियाले प्रचार गरिरहेका छन् । हिन्दुस्तान टाइम्सले ओलीले परम्परा तोडेको शीर्षकमै समाचार बनाएको चिनियाँ विज्ञहरूले उल्लेख गरेका छन् ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनबाट आएको २१ करोड ६० लाख डलर ऋणबारे पनि भारतीय सञ्चारमाध्यमले ‘ऋण चिन्ता’ शीर्षकमा समाचार बनाएका छन् ।
चीन र नेपालबीचको द्विपक्षीय सम्बन्धको विकास दुई राष्ट्र र उनीहरूका जनताको आधारभूत हितमा रहेको र यसबारे तेस्रो पक्षलाई असहमति रोप्ने ठाउँ नरहेको छियानले बताएका छन् ।
पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स जस्ता दक्षिण एसियाका धेरै देशले बीआरआई परियोजनामा सहभागी भएर आफ्नै विकास हासिल गरेको चिनियाँ विज्ञहरूले जोड दिएका छन् । उनीहरूका अनुसार ‘बीआरआई सहयोगका लागि ठूलो केक हो । नेपाल पनि केकमा साझेदारी चाहन्छ ।’
आधिकारिक तथ्यांक अनुसार चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो । सन् २०२३ मा नेपाल र चीनबीचको द्विपक्षीय व्यापारको मात्रा १.८ बिलियन डलर थियो, जुन वार्षिक ९.१ प्रतिशतले बढेको देखियो । जनवरीदेखि अगस्ट २०२४ सम्म, चीन र नेपालबीचको व्यापार मात्रा १.२८ बिलियन डलर थियो, जुन वार्षिक १८ प्रतिशतले बढेको देखिएको छ।
चीन र नेपालबीचको द्विपक्षीय व्यापार नेपालको कुल व्यापारको १७ प्रतिशत रहेको छ । यसैबीच, भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकोले यसको कुल व्यापारको ६५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ।
‘चीनको बढ्दो शक्ति र प्रभावलाई ध्यानमा राख्दै, विशेष गरी चीन र नेपाल दुवैले एकअर्कासँग घनिष्ठ सहयोगात्मक सम्बन्ध स्थापना गर्न खोजेकाले चीनको अंश अझै बढ्ने निश्चित छ, तर नेपालको सबैभन्दा प्रभावशाली आर्थिक साझेदारको रूपमा भारतको प्रवृत्ति पनि लामो समयदेखि चलिरहेको छ । नेपालसँगको भारतको सम्बन्धको भौगोलिक र सांस्कृतिक फाइदालाई ध्यानमा राख्दै छियानले भने
‘वास्तवमा नेपालसँगको सहकार्यका सन्दर्भमा दुई प्रमुख देशले साँघुरो दृष्टिकोण राखेर नकारात्मक प्रतिस्पर्धात्मक सम्बन्धमा फस्नुको सट्टा आफ्नो साझा छिमेकीको अर्थतन्त्रको विकास र जनताको जीविकोपार्जनमा सहयोग गर्न थप सकारात्मक भूमिका खेल्नु राम्रो हुनेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया