Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प


अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प गएको छ । क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दश हजारभन्दा धेरै मानिस बिजुलीविहीन भएका छन् ।

कुनै पनि ठूलो मानवीय र भौतिक क्षति भने नभएको बीबीसीले जनाएको छ । केही घरहरुमा सामान्य क्षति पुगेको बीबीसीले जनाएको छ ।

शक्तिशाली भूकम्प लगत्तै सुनामीको चेतावनी दिईएकोले सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । क्यालिफोर्नियाको हाफ मून बेमा रहेको एक होटललाई सुनामीको चेतावनी दिएर लगातार अलर्ट गराइएको थियो । तर अहिले सुनामीको चेतावनी रद्द भएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत एवम् सहायता सामग्री पठाइएको क्यालिफोर्नियाको उत्तरी तटको प्रतिनिधित्व गर्ने राज्य सिनेटर माइक म्याकगायरले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएका छन् ।

अमेरिकी भूगर्भविद्हरुले यस क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प सामान्यतः नदेखिएको बताएका छन् । उनीहरुका अनुसार हरेक वर्ष विश्वभर ७ म्याग्निच्युडका १० देखि १५ वटा भूकम्प आउने गरेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणको तथ्याङ्कअनुसार यस वर्ष विश्वभर ७ म्याग्निच्युडका आठवटा भूकम्प गइसकेका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट