Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्द फेरि महाअभियोग प्रस्ताव दर्ता


दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्द फेरि महाअभियोग प्रस्ताव अघि बढेको छ । अघिल्लो हप्ता भएको मतदानमा महाअभियोगबाट जोगिएपछि विपक्षी दलहरुले फेरि संसदमा महाअभियोग प्रस्ताव अघि बढाएका बीबीसीले जनाएको छ ।

प्रस्तावमा भोलि मतदान हुनेछ । यसपटक भने दक्षिण कोरियाको सत्तारूढ दलले पनि राष्ट्रपति योललाई महाअभियोग लगाउने प्रस्तावको समर्थन गर्ने भएको समाचारसंस्था सीएनएनले जनाएको छ ।

अघिल्लो हप्ता महाअभियोगको प्रस्तावमा मतदान हुनुअघि राष्ट्रपतिले मार्सल कानून लागू गरेकोमा माफी मागेपछि सत्तारुढ पीपीपीका सांसदहरू मतदानमा उपस्थित भएनन् । तर राष्ट्रपतिले राजिनामा नदिइ अन्तिमसम्म लड्ने बताएपछि यस पटक सत्तारुढ पीपीपीका सांसदहरुले पनि महाअभियोगको प्रस्तावमा मतदान गर्ने भएका हुन् ।

हिजो टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति योलले सैनिक शासन लगाउने आफ्नो निर्णय न्यायोचित भएको र राष्ट्रपति पदबाट राजीनामा नदिने बताएका थिए।

महाअभियोग प्रस्ताव दुई तिहाई मतबाट पारित गर्नुपर्छ । तीन सय सदस्यीय कोरियाको संसदमा राष्ट्रपति यूनको सत्तारूढ दल पिपल्स पावर पार्टी (पीपीपी) का एक सय आठ सांसद छन् । विपक्षीका एक सय ९० सांसद छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट