मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो
मापुटो, ३ पुस । मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ । मङ्गलबार जारी गरिएको प्रारम्भिक तथ्याङ्कले आइतबार मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा अवतरण गरेपछि चक्रवातले ३४ जनाको ज्यान लिएको बताएको छ ।
अद्यावधिक गरिएको सङ्ख्यामा केन्द्रले काबो डेलगाडोमा ३८ जना, नाम्पुला प्रान्तमा चार जना र भित्री नियासामा थप तीन जनाको मृत्यु भएको बताएको छ । एकजना व्यक्ति बेपत्ता भएका छन् । चक्रवातले प्रतिघन्टा करिब २६० किलोमिटरका हावाका साथै २४ घन्टामा करिब २५० मिलिमिटर (१० इन्च) वर्षा ल्याएको थियो । करिब ५०० जना घाइते भएका छन् ।
चक्रवातबाट करिब २४ हजार घर पूर्ण रूपमा र अर्को १२ हजार तीन सय आंशिकरुपमा क्षतिग्रस्त भएका छन् । कूल एक लाख ८१ हजारभन्दा बढी मानिस यस चक्रवातबाट प्रभावित भएका छन् । चिडोले नियमितरुपमा चक्रवातहरु आउने र सङ्घर्ष तथा विकासको कमीका कारण पहिले नै कमजोर अवस्थामा रहेको उत्तरी मोजाम्बिकको भागलाई प्रभावित गरेको छ ।
हिन्द महासागरको टापु मायोट्टेमा ठोक्किएपछि चक्रवात मोजाम्बिकमा अवतरण भयो । यसले यहाँ सयौँ र सम्भवतः हजारौँ मानिसहको ज्यान लिएको आशङ्का गरिएको छ । रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया