सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
वाशिङ्गटन, ५ पुस । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता प्याट राइडरले नियमित पत्रकार सम्मेलनमा भने, “हामीले सिरियामा करिब ९०० अमेरिकी सेना तैनाथ गरिरहेकोमा थप एक हजार १०० सेना त्यहाँ पठाउने सुनिश्चित गरेका छौं । आईएसआईएस मिसनलाई पराजित गर्न मद्दत गर्ने यी सेनाहरू असद शासनको पतन हुनु अघि नै त्यहाँ थिए ।”
नोभेम्बर २७ मा हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा सिरियाली सशस्त्र विपक्षीहरूले एलेप्पो र इडलिब प्रान्तहरूमा सरकारी सेनाहरू विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरे ।
आक्रमण लगत्तै डिसेम्बर ७ सम्म राष्ट्रपति बसर असदका विपक्षीहरूले अलेप्पो, हामा, दारा र होम्सलगायत धेरै प्रमुख शहरहरू कब्जा गरेका थिए ।
डिसेम्बर ८ मा तिनीहरू दमस्कस प्रवेश गरे लगत्तै असदले राजीनामा दिए र देश छोडे । यसले सिरियामा अल–असद परिवारको ५० वर्षभन्दा बढी समयको कठोर शासनको अन्त्य भयो ।
डिसेम्बर १० मा मोहम्मद अल–बशीरले सन् २०२५ मार्च १ सम्म सिरियाको अन्तरिम सरकारको प्रमुखको रूपमा आफ्नो नियुक्ति घोषणा गरे। रासस/एएनआई
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया