Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति


इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार वार्तामा ९० प्रतिशत प्रगति भएको छ तर, केही मुख्य मुद्दाहरूमा समाधान बाँकी रहेको छ ।

इजिप्टको सीमामा रहेको दक्षिणी गाजाको रणनीतिक रूपमा महत्त्वपूर्ण भूभाग फिलाडेल्फिया कोरिडोरमा इजरायली सेनाको निरन्तर उपस्थिति हटाउने विषयमा सहमति हुन नसकिरहेको प्यालेस्टाइनले जनाएको छ ।

कतारको दोहामा भइरहेको छलफलको गाजासँगको इजरायलको सीमाको बफर जोनको लम्बाई बढाउने विषय पनि समावेश छ । यो क्षेत्रमा इजरायली सेना खटिनेछ । यी मुद्दाहरूको समाधान भएपछि, तीन चरणको युद्धविरामबारे केही दिनभित्रै सहमति हुन सक्ने वार्ताकारले बताएका छन् ।

सम्झौता भएपछि इजरायलले हरेक दिन २० जना प्यालेस्टाइनी कैदी रिहा गरेवापत हमासले एक जना इजरायली महिला सैनिकको रिहाई गर्नेछ । इजरायलमा २५ वर्षभन्दा धेरै समय जेल सजाय भोगिरहेका झन्डै चार सय जना कैदीलाई छुटाउनुपर्नेछ । गाजामा ९६ जना बन्धकहरूमध्ये ६२ जना अझै जीवित रहेको इजरायलले अनुमान गरेको छ ।

यस्तै इजिप्ट र कतारको निगरानीमा उत्तरी गाजामा नागरिक फर्कन पाउने छन् र गाजामा हरेक दिन पाँच सय ट्रकका दरले सहायता सामग्री लैजान दिइनेछ । तीन चरणको योजनाको अन्तिम चरणमा १४ महिनाको युद्धको अन्त्य घोषणा हुनेछ । अमेरिकाले पनि गाजा युद्धविरामको लागि नयाँ प्रयास शुरु गर्ने बताएको छ । जसले गर्दा युद्ध रोकिने आसा पलाएको अधिकारीहरुले बताएका छन् ।

गएको वर्षको अक्टोबरमा हमासले १२ सय जनाको ज्यान जानेगरी हमासले इजरायलमा आक्रमण गरेको थियो, भने दुई सय ५१ जनाको अपहरण गरेको थियो । त्यसको जवाफमा इजरायलले गाजा ध्वस्त पारेको छ भने ४५ हजार जनाको ज्यान गएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट