Techie IT
Samayabaddha
शुक्रबार, १९ पुस, २०८१

चीनले विश्वको सबैभन्दा लामो द्रुतमार्ग सुरुङ बनायो


चीनले विश्वको सबैभन्दा लामो ‘एक्सप्रेसवे’ (द्रुतमार्ग) सुरुङ निर्माण गरेको छ । चीनले शिनजियाङ्गमा चार वर्ष लगाएर विश्वको सबैभन्दा लामो एक्सप्रेसवे सुरुङ निर्माण गरेको हो ।

तियानशान शेङ्गली सुरुङ २२ किलोमिटर १३ मिटर लामो रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो सुरुङ तियानशान पर्वत भएर यात्राको समय कम गर्नका लागि बनाइएको हो । शिनजियाङ्ग चीनको स्वायत्त क्षेत्र हो ।

एक्सप्रेसवे सुरुङ सञ्चालनमा आएपछि उत्तरी र दक्षिणी शिनजियाङ्गको बीचमा सम्पर्क सुधार हुने खबरमा उल्लेख छ । शिनजियाङ्गको दक्षिण–पश्चिम सीमा भारतसँग जोडिएको छ ।

तियानशान सुरुङ निर्माणको काम सन् २०२० को अप्रिलमा सुरू भएको थियो । सुरुङ निर्माणका क्रममा तीन हजार मिटरभन्दा धेरैको उचाइमा रहेको जटिल भौगोलिक अवस्थालगायत धेरै कठिनाइहरूको सामना गर्नुपरेको थियो ।

यो सुरुङ निर्माण गर्न टीबीएम मेशिनको प्रयोग भएको थियो । चीनमा सडक सुरुङ निर्माण गर्न पहिलो पटक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग भएको हो । यो मेशिनको प्रयोगका कारण सुरुङ निर्माणमा लाग्ने समय १० वर्षबाट घटेर चार वर्षमा झरेको थियो । निर्माण कार्यमा तीन हजार जनाभन्दा धेरै श्रमिक खटाइएको थियो ।

एक्सप्रेसवे सुरुङका कारण तियानशान पर्वतको बीचको यात्राको समय तीन घण्टाबाट घटेर २० मिनेटमा झर्ने सिन्ह्वाको खबरमा उल्लेख छ । यो सुरुङ आउँदो वर्ष सञ्चालनमा आउनेछ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट