Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

बाइडेन अमेरिकी इतिहासकै ‘खराब राष्ट्रपति’, खुला सीमा नीतिका कारण हिंसात्मक घटना : ट्रम्प


अमेरिकामा नयाँ बर्ष मनाउँदै गर्दा भएका हिंसात्मक घटनालाई लिएर नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् ।

हिंसात्मक घटनाले अमेरिका विश्वमा हास्य पात्र बनेको भन्दै ट्रम्पले यसको पछाडि सीमा नीति र कमजोर नेतृत्व रहेको बताएका हुन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपति भएका आरोप लगाए । बाइडेनको खुला सीमा नीतिको सन्दर्भमा आफूले यसअघि पनि विरोध गर्दै आएको उनको भनाइ छ ।

खुला सीमा नीति र कमजोर नेतृत्वकै कारण अमेरिकामा कट्टरपन्थी इस्लामिक आतङ्कवाद र हिंसात्मक अपराध भएको ट्रम्पले उल्लेख गरेका छन् ।

नयाँ वर्षको रमाइलोका बेला लुइसियाना राज्यको न्यु अर्लिन्समा एक व्यक्तिले भीडमा ट्रक गुडाउँदा १५ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए । यस्तै लस भेगासमा ट्रम्प इन्टरनेशनल होटलबाहिर साइबर ट्रक विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए ।

न्याय विभाग, अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई), डेमोक्र्याटद्वारा शासित राज्य र स्थानीय अभियोजकहरूले आफ्नो काम नगरेका ट्रम्पको आरोप छ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० तारिखमा शपथ लिँदै छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट