Techie IT
Samayabaddha
मंगलबार, २३ पुस, २०८१

गाजा युद्धविरामका लागि कतारमा पुन: वार्ता थालियो


गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा इजरायली प्रतिनिधिमण्डलसहित कतारमा वार्ता थालिएको छ । बन्धक रिहाई र युद्धविराम व्यवस्थाबारे छलफल गर्न इजरायली सरकारले प्रतिनिधिमण्डलको टोली कतार पठाएको हो ।

प्रतिनिधिमण्डलमा इजरायली गुप्तचर निकाय मोसाद, शिन बेट वा इजरायली सुरक्षा निकाय, इजरायली रक्षा बल (आईडीएफ) का अधिकारीहरू रहेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ता टोलीलाई एक सम्झौतामा पुग्न अधिकार दिएको र टोलीले हरेक बन्धकलाई फिर्ता गर्ने बीबीसीले जनाएको छ ।

वार्ता सुरू भएसँगै हमासले इजरायली बन्दीको भिडियो सार्वजनिक गरेको छ । प्यालेस्टिनी सशस्त्र समूह हमासले आफ्नो कब्जामा रहेकी इजरायली बन्दी लिरी अलबागको भिडियो सार्वजनिक गरेको हो ।

इजरायलसँग युद्धविराम र बन्दी रिहाईसम्बन्धी सम्झौताबारे कतारमा वार्ता सुरू भएकै समयमा हमासले १९ वर्षीया अलबागको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा अलबागले इजरायल सरकारलाई सम्झौतामा पुग्न अनुरोध गरेकी छिन् ।

सन् २०२३ को अक्टोबरमा हमासले गाजासँगको सीमामा रहेको सेनाको नहाल ओज आधार शिविरमा आक्रमण गरेर ६ जना महिला सिपाहीलाई बन्दी बनाएको थियो । अलबाग तिनै छ जनामध्ये एक हुन् । यीमध्ये पाँच जना अहिले पनि हमासको कब्जामा भएको बताइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट