क्यानाडाका प्रधानमन्त्री ट्रुडोद्वारा पदबाट राजीनामा
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।
आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिकाबीच प्रधानमन्त्री ट्रुडोले हिजो राजीनामा दिएका हुन् । उनले लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री पदमा रहने बताएका बीबीसीले जनाएको छ ।
विभिन्न आन्तरिक विवादका बीच रोकिएको संसद् यही जनवरी २७ मा पुनः शुरू हुन लागेकामा अब आउने मार्च २४ सम्म स्थगित हुने भएको छ । यो बीचमा लिबरल पार्टीको नेतृत्व प्रतिस्पर्धाको लागि अवसर हुने खबरमा उल्लेख छ ।
कन्जर्भेटिभ पार्टीको १० वर्षको शासनपछि ट्रुडो सन् २०१५ मा सत्तामा आएका थिए । पछिल्लो समय अर्थमन्त्रीको अचानक बिदाइले सरकारभित्र बढ्दो उथलपुथलको सङ्केत गरेपछि उनले राजीनामा घोषणा गरेका छन् । राजनीतिक उथलपुथलले क्यानाडालाई अन्तर्राष्ट्रियस्तरमै कठिन स्थितिमा ल्याएको छ ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासी र लागूपदार्थको प्रवाह नरोके सबै क्यानाडाली सामानहरूमा २५ प्रतिशत भन्सार महसुल लगाउने बताउदै आएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया