Techie IT
Samayabaddha
बिहीबार, २५ पुस, २०८१

अमेरिकाको लस एन्जलसमा फैलिएको आगो नियन्त्रणबाहिर


अमेरिकाको लस एन्जलसमा फैलिएको आगो नियन्त्रणबाहिर गएको छ । जङ्गलबाट फैलिएको आगो बस्तीमा आएपछि ठूलो रूप लिएको हो ।

सरकारले ३० हजार जना मानिसको उद्धार गरेर सुरक्षित ठाउँमा सारेको समाचार संस्था रोयटर्सले जनाएको छ । सयौं घर जलिसकेका छन् । १३ हजार वटा घर ‍उच्च जोखिममा रहेका छन् । आगोले बस्तीका कैयौं घर, महँगा सम्पत्ति, कारलगायतका संरचना खरानी बनाएको छ ।

जङ्गलबाट ५० किलोमिटर भित्रको बस्तीसम्म आगो पुगेको छ । हिजोसम्म जम्मा दुई सय एकड क्षेत्र जलेकोमा रातभरमा एक हजार एकड क्षेत्रफल आगोले ध्वस्त भएको छ । आगो अब हलिउडका धेरै कलाकार र दिग्गजहरूको घरतर्फ जान थालेको खबरमा उल्लेख छ । लस एन्जलसका गभर्नर गेभिन न्यूजमले आपत्काल घोषणा गरेका छन् ।

बस्ती छाड्ने हतारमा रहेका मानिसहरूका कारण राजमार्गमा ट्राफिक जाम रहेको छ, कतिपय ठाउँमा जाममै पनि आगलागी भएको छ । मानिसले सडकमै कार छाडेर भागेका छन्, बुल डोजरले कार हटाइरहेका दृश्य देखिएका छन् ।

आगलागीका कारण दुई लाख २० हजार मानिसको घरमा बिजुली कटौती भएको छ । दमकल र हवाईजहाज तथा हेलिकप्टरको साथमा सयौं अग्नि नियन्त्रक आगो निभाउन खटिएका छन् ।

सुक्खा वातावरण र तीव्र गतिमा हावा चलेका कारण आगो निभाउने काम कठिन बन्दै गएको अग्नि नियन्त्रकले बताएका छन् । राष्ट्रपति जो बाइडेनले सङ्घीय सरकार जस्तोसुकै सहयोगका लागि तयार रहेको बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट