भारतमा हिन्दु धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु
नयाँदिल्ली, २५ पुस । भारतमा हिन्दु धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बिहीबार बताएका छन् ।
भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री वेङ्कटेश्वर स्वामी मन्दिरको दर्शनका लागि प्रवेशद्वारमा टोकन लिन ठुलो भीड जम्मा भएको समय एकाएक भागदौड मच्चिएको थियो । “हजारौँ धर्मावलम्बी भेला भएको मन्दिर परिसरमा भएको दुर्भाग्यपूर्ण घटनामा छ जना भक्तजनको ज्यान गएको छ । दिवङ्गत आत्माको शान्तिका लागि म भगवानसँग प्रार्थना गर्दछु,” राज्यको सत्तारुढ तेलुगु देशम् पार्टीका प्रवक्ता प्रेमकुमार जैनले घटनाको पुष्टि गर्दै दुःख व्यक्त गरे ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनिएको छ, “यस दुःखद घडीमा घटनामा ज्यान गुमाएका भक्तजनप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु, साथै, घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्य र आपन्तजनप्रति समवेदना व्यक्त गर्दछु ।’’
भारतका प्रमुख धार्मिक चाडहरूमा भीडभाड व्यवस्थापन र सुरक्षाको कमीका कारण धार्मिक स्थलहरूमा घातक दुर्घटनाहरू हुने गरेका छन् । गत वर्ष जुलाईमा उत्तर प्रदेशमा हिन्दु धर्मावलम्बीको धार्मिक जमघटका क्रममा १२१ जनाको मृत्यु भएको थियो । सन् २०१६ मा दक्षिणी केरला राज्यको एक मन्दिरमा नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको विस्फोटमा परी ११२ जनाको मृत्यु भएको थियो । रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया