Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

पाकिस्तानमा दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर


इस्लामाबाद, २८ पुस । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले देशमा दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय नगएको बताउँदै मुस्लिम राष्ट्रहरूले बालिकाहरूको शिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

इस्लामाबादमा दुई दिने ‘मुस्लिम समुदायमा बालिका शिक्षा :चुनौती र अवसर’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले बालिकालाई शिक्षामा समान पहुँच प्रदान गर्न मुस्लिम विश्वले सामना गर्ने महत्त्वपूर्ण अवरोधहरूलाई स्वीकार गरे ।

प्रधानमन्त्री शरिफले आगामी दशकमा लाखौँ युवा बालिकाहरू श्रमशक्तिमा प्रवेश गर्ने भन्दै उनीहरूले आफू र आफ्नो परिवारलाई गरिबीबाट माथि उठाउन मात्र नभई विश्व अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने सम्भावनामा जोड दिए ।

पाकिस्तानको कुल जनसङ्ख्याको आधाभन्दा बढी महिला भए पनि महिला साक्षरता दर ४९ प्रतिशत मात्र रहेको उनले जानकारी दिए । पाँचदेखि १६ वर्ष उमेर समूहका करिब दुई करोड २८ लाख बालबालिका विद्यालय बाहिर रहेको र बालिकाहरूको सङ्ख्या असमान रहेको पनि उनले उल्लेख गरे ।

“बालिकाहरूलाई शिक्षाबाट वञ्चित गर्नु भनेको उनीहरूको आवाज र छनोटबाट वञ्चित गर्नु हो र उज्ज्वल भविष्यको अधिकारबाट वञ्चित गर्नु हो”, डनले प्रधानमन्त्री शरिफलाई उद्धृत गर्दै भनेको छ ।

सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईसहित मुस्लिम बहुल देशका धेरै अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले भाग लिइरहेका छन् ।

मलालाले सम्मेलनमा विश्व नेताहरूसँग सहभागी हुन पाउँदा उत्साहित रहेको बताउँदै एक्समा आइतबार बालिकाहरूको शिक्षाको अधिकार संरक्षणको महत्त्व र तालिबानले अफगान महिला तथा बालिकाहरूप्रति गरेको व्यवहारका लागि जिम्मेवार ठहर्‍याउनुपर्ने विषयमा बोल्ने बतएका छन् ।

“म विश्वभरका मुस्लिम नेताहरूसँग बालिका शिक्षाको महत्त्वपूर्ण सम्मेलनमा सहभागी हुन उत्साहित छु… आइतबार म सबै बालिकाहरूको विद्यालय जाने अधिकारको संरक्षणका बारेमा र नेताहरूले अफगान महिला र बालिकाहरूविरुद्धको अपराधका लागि तालिबानलाई किन जिम्मेवार ठहर्‍याउनुपर्छ भन्ने विषयमा बोल्नेछु”, उनले एक्समा लेखेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट