Techie IT
Samayabaddha
आईतबार, ६ माघ, २०८१

गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक, बिपीन जोशी कहिले छुट्लान् ?


प्यालेस्टिनी शहर गाजामा युद्ध विराम भएसँगै प्यालेष्टिनी इस्लामी समूह (हमास)को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ । हमासले बन्धकहरूको सूची बुझाउन ढिलाइ गरेकै कारण युद्धविराम गर्न तीन घण्टा ढिलो भएको नेतान्याहूको कार्यालयले जनाएको छ।

यसैगरी, सम्झौताको मध्यस्थकर्ता अमेरिका,कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् । “सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज ९आइतबार० निम्न इजरायली कैदीहरू डोरोन स्टेनब्रेकर,एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,”बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

तीन महिला बन्धकमध्ये एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको बताइएको छ।

यसअघि, इजरायलले स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम रिहा हुनेहरूको सूची इजरायलल प्राप्त नगरेसम्म सुरु नहुने बताउँदै गाजाका विभिन्न भागमा चेतावनीस्वरूप कारबाही जारी गरेको थियो ।

यसैबीच, हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतवार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा १० जना मारिएको बताएका छन्।

यसअघि, इजरायली सेनाले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशन भन्दै युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो। प्रधानमन्त्री नेतन्याहुले आइतवार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिएका थिए ।

यसैगरी, इजरायलले पनि पहिलो चरणमा रिहा गरिनु पर्ने ३३ जना बन्धकहरूको सूची सार्वजनिक गरेको छ । इजरायलले आफ्नो आधिकारीक एक्स एकाउन्टमा ३३ बन्धकहरूको नामसहितको तस्वीर सार्वजनिक गरेको हो। सो सूचीमा अक्टोबर ७ मा हमासले बन्धक बनाएका सबैभन्दा कान्छो र पाका बन्धक पनि रहेका छन् ।

बन्धक बनाइएका सबैभन्दा कान्छा बन्धकमा २ वर्षका कफिर बिबास रहेका छन् । उनी ९ महिनानै बन्दी बनाइएका थिए । तर वृद्ध बन्धकहरूमा भने ८६ वर्षक शलोमो मन्जुर रहेका छन् ।

इजरायल र हमासबीच एक वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध रोक्ने उपाय खोज्न युद्धविराम सम्झौता गरिएको हो। यसलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्नुपर्ने बताइएको छ। उक्त सम्झौता अनुसार,बन्धकहरूलाई पहिलो ४२ हप्तामा रिहा गरिनेछ। हाल कम्तिमा ३३ जना इजरायली नागरिकहरू हमासको हिरासतमा छन्। यसैगरी, एक नेपाली बिपिन जोशी पनि बन्धक नै रहेका छन्।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट