Techie IT
Samayabaddha
बुधबार, ९ माघ, २०८१

भारतमा १४ जना माओवादीको हत्या


रायपुर, भारत, ८ माघ । भारतीय सुरक्षा बलले मङ्गलबार एक जना शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीलाई गोली हानेर मारेका छन् । गृहमन्त्रीले यसलाई हालैका लडाईंहरूमध्ये सबैभन्दा ठुलो भनेका छन् ।

गृह मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ ।

नयाँदिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ । भारतको छत्तीसगढ राज्यको जङ्गलमा रहेका छापामारहरूको गढमा जनवरी १६ मा १२ जना माओवादी मारिएपछि मङ्गलबारको झडप भएको हो ।

भारतको स्रोत सम्पन्न मध्य क्षेत्रमा सिमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूले गरेको दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका थिए ।

नक्सलाइट भनेर पनि चिनिने विद्रोहीहरू चिनियाँ क्रान्तिकारी नेता माओ त्से तुङबाट प्रेरित थिए । नक्सलाइट सन् १९६७ मा उनीहरूको सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट राखिएको हो ।

“नक्सलवादलाई अर्को ठुलो झट्का”, गृहमन्त्री अमित शाहले १४ विद्रोहीलाई ‘समाप्त’ बनाएको पुष्टि गर्दै विज्ञप्तिमा भने ।

विद्रोहीहरूलाई परास्त गर्न सन् २०२६ मार्चको समय सीमा तय गरेका शाहले ‘नक्सलवादले अन्तिम सास फेरिरहेको’ बताए । यस क्षेत्रमा अतिरिक्त बल पठाइएको प्रहरीले जनाएको छ । “सुरक्षा बल अझै जङ्गलभित्र छ”, छत्तीसगढको माओवादी विरोधी अभियानका प्रमुख विवेकानन्द सिन्हाले भने ।

माओवादीहरूले स्थानीय बासिन्दाका लागि जग्गा, रोजगारी र यस क्षेत्रको अपार प्राकृतिक स्रोतको हिस्सा माग गर्दै आएका छन् ।

उनीहरूले भारतको पूर्व र दक्षिणका विभिन्न दुर्गम समुदायहरूमा प्रवेश गरे र सन् २००० को सुरुआतसम्म आन्दोलन शक्ति र सङ्ख्यामा बढ्दै गयो । त्यसपछि नयाँदिल्लीले ‘रेड कोरिडोर’ भनिने क्षेत्रमा हजारौँ सैनिक तैनाथ गर्यो । यस द्वन्द्वमा सरकारी बलमाथि पनि धेरै घातक आक्रमणहरू भएका छन् । यस महिना सडक किनारमा भएको बम विस्फोटमा कम्तीमा नौ जना भारतीय सैनिकको मृत्यु भएको छ । रासस, एएफपी


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट