चिनियाँ सामानको आयातमा थप कर लगाउने अडानमा ट्रम्प, क्यानडा र ईयू पनि ट्रपको निशानामा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेब्रुअरी १ देखि नै चीनमा निर्मित सामानको आयातमा १० प्रतिशत शुल्क लगाउनेबारे आफूले सोचिरहेको बताएका छन् ।
ट्रम्पले मेक्सिको र क्यानडामाथि २५ प्रतिशतले आयात कर लगाउने चेतावनी दिइरहँदा चीनबारे यस भनाइ आएको हो ।
ट्रम्पले आफ्ना ती छिमेकी देशहरूलाई कागजातविहीन आप्रवासी र औषधि आफ्नो देशमा आउन दिइरहेको आरोप लगाउँदै त्यसो भनेका हुन् ।
डोनल्ड ट्रम्पले नयाँ करदर लागु गरेमा अमेरिकी उपभोक्ताहरूलाई चिनियाँ सामान झन् महँगो पर्ने छ ।
मङ्गलवार वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली सङ्घ ईयूलाई समेत आयात शुल्क लगाउने वाचा गरे ।
‘चीन दुव्र्यवहारकर्ता हो, तर युरोपेली सङ्घ हामीप्रति निकै, निकै नराम्रो भइरहेको छ,’ उनले भने ।
‘उनीहरूले हामीलाई निकै, निकै नराम्रो व्यवहार गरिरहेका छन् । त्यसैले उनीहरू आयात शुल्क लगाइनेमा पर्नेवाला छन् । त्यसको क्षतिपूर्ति गर्ने यही एउटा तरिका हो। निष्पक्षता कायम गर्ने यही मात्र तरिका हो ।’
चुनावी प्रचारप्रसारका बेला ट्रम्पले चिनियाँ सामानमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने वाचा गरेका थिए ।
यसैबीच एक शीर्ष चिनियाँ अधिकारीले डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा ‘संरक्षणवाद’विरुद्ध बोलेका छन् ।
चिनियाँ उपप्रधानमन्त्री डिङ सियासियाङले अमेरिकाको नाम उल्लेख नगरीकनै व्यापारसम्बन्धी विवादमा ‘सबैले जित्ने’ उपायका लागि आह्वान गरेका छन् ।
त्यसैगरी क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले त्यससँग जुझ्ने प्रतिज्ञा गरेका छन् । ‘यदि अमेरिकी राष्ट्रपति आयातमा लगाइने शुल्कका विषयमा अगाडि बढ्न चाहन्छन भने क्यानडाले त्यसको जबाफ दिने छ,’ टुडोले भने ।
त्यस्तो जोखिमको जबाफ दिनका लागि क्यानडा जबाफी कर लगाउने तयारीमा छ, जुन अर्बाै डलर बराबरको हुने बताइएको छ ।
क्यानडा, चीन र मेक्सिको अमेरिकाका शीर्ष व्यापार साझेदार हुन् ।
ट्रम्पको आर्थिक योजनामा कर मुख्य पक्षका रूपमा छ । राष्ट्रपति ट्रम्प त्यसले अर्थतन्त्रको उत्थान, रोजगार संरक्षण र करमार्फत् हुने आम्दानी बढाउने बताउँछन ।
तर कैयौँ अर्थशास्त्रीहरू यस्तो उपायले अमेरिकीहरूलाई उच्च मूल्यभार पर्न सक्ने र विदेशी प्रतिरोधबाट कम्पनीहरूलाई असर पर्न सक्ने बताउँछन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया