Techie IT
Samayabaddha
सोमबार, १४ माघ, २०८१

चीनको प्रयोगशालाबाट कोभिड–१९ फैलिएको हुन सक्ने : अमेरिकी गुप्तचर निकाय


अमेरिकाको गुप्तचर निकाय सीआईए कोभिड–१९ भाइरस जनावरबाट भन्दा पनि चीनको प्रयोगशालाबाट उत्पन्न भएको हुन सक्ने ‘सम्भावना धेरै’ रहेको जनाएको छ । सीआईएले कोभिड–१९ को उत्पत्तिबारे आफ्नो विगतको मूल्याङ्कनलाई परिवर्तन गर्दै चिनियाँ प्रयोगशालाबाट उत्पन्न भएको हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।

यद्यपि गुप्तचर निकायले आफ्नो मूल्याङ्कनप्रति ‘कम आत्मविश्वास’ रहेको भन्दै सावधानीपूर्वक प्रतिक्रिया दिएको छ । सीआईएका प्रवक्ताले उपलब्ध रिपोर्टहरूका आधारमा महामारी प्राकृतिक फैलावटमार्फत भन्दा ‘अनुसन्धानका क्रममा’ फैलिएको सम्भावना बढी रहेको बताएका खबरमा उल्लेख छ ।

तर चीनले पहिलेदेखि नै यस्तो दाबीको विरोध गर्दै आएको छ । यसअघि चीनले आफूमाथि यस्तो आरोप लाग्दा कोरोना भाइरस प्रयोगशालाबाट नआएको बताएको थियो । चीनले अमेरिकी सरकार र पश्चिमी मिडियाले कोरोनाको स्रोतबारे अफवाह फैलाइरहेको बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त गरिएका सीआईएका नयाँ निर्देशक जोन र्याटक्लिफले पहिलो निर्णयमध्ये कोभिडको उत्पत्तिबारे नयाँ मूल्याङ्कन सार्वजनिक गर्नुभएको हो । ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय गुप्तचर निकायको निर्देशकका रूपमा काम गर्नुभएका र्याटक्लिफले लामो समयदेखि प्रयोगशालामा चुहावट भएको भाइरसका कारण कोभिड–१९ महामारी फैलिएको भन्ने सिद्धान्तमा विश्वास गर्दै आउनुभएको छ । उहाँले सम्भवतः वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको प्रयोगशालाबाट चुहावट भएको भाइरसका कारण कोभिड–१९ शुरू भएको हुन सक्ने दाबी गर्दै आउनुभएको छ । कोरोना भाइरस पहिलो पटक यो प्रयोगशाला नजिकैको हुअनान बजारमा फेला परेको थियो ।

कोभिड–१९ महामारी कसरी फैलियो भन्नेबारे सबै एकमत देखिएका छैनन् । कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले १ सय २० पृष्ठको प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा भाइरस सर्ने सम्भावना कम हुने बताएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट