Techie IT
Samayabaddha
सोमबार, १४ माघ, २०८१

कोरियाली राष्ट्रपतिमाथि ‘विद्रोहको नेतृत्वकर्ता’ मा अभियोजन


सियोल, १४ माघ । दक्षिण कोरियाली अभियोजकहरूले महाभियोग लगाइएका राष्ट्रपति युन सुक योलको मार्सल लको असफल घोषणापछि उनीमाथि आइतबार ‘विद्रोहको मुख्य नेता’ का रूपमा अभियोजन गरेका छन् । उनलाई हिरासतमा रहन आदेश दिएका छन् ।

युनले डिसेम्बर ३ मा नागरिक शासन निलम्बन गर्ने आफ्नो प्रयासले देशलाई राजनीतिक अराजकतामा डुबाए । यो कदम छ घन्टासम्म मात्र रह्यो र संसद सदस्यहरूले सशस्त्र सैनिकहरूको विरोधमा मतदान गरी यसलाई खारेज गरे । त्यसलगत्तै उनलाई महाभियोग लगाइएको थियो र यो महिना गिरफ्तार हुने पहिलो दक्षिण कोरियाली राष्ट्र प्रमुख बने ।

अभियोजनकर्ताहरूले एक बयानमा उनीहरूले ‘युन सुक योललाई विद्रोहको प्रमुख भएको आरोपमा आज हिरासतमा राखेको’ बताएका छन् ।

उनको गिरफ्तारीदेखि नै उनलाई सियोल हिरासत केन्द्रमा राखिएको छ । औपचारिक अभियोजनले उनलाई अदालती कारबाहीसम्म हिरासतमा राख्नेछ र यो ६ महिनाभित्र हुनुपर्छ ।

अदालतले दुई पटक अभियोजकहरूले उनीहरूको अनुसन्धान अगाडि बढ्दै गर्दा उहाँको गिरफ्तारी वारेन्ट विस्तार गर्ने अनुरोधलाई अस्वीकार गरेपछि अभियोग व्यापक रूपमा अपेक्षित थियो ।

“अनुसन्धानका क्रममा प्राप्त प्रमाणको विस्तृत समीक्षापछि ९अभियोजकहरू० यो निष्कर्षमा पुगे कि प्रतिवादीलाई अभियोग लगाउन मात्र उचित थियो”, उनीहरूले विज्ञप्तिमा भने ।

युनलाई जेलमा राख्ने आवश्यकतालाई ‘प्रमाण विनाशको निरन्तर जोखिम’ द्वारा न्यायसङ्गत रहेको उनीहरूले बताए । उनीहरूका अनुसार विशेष आरोप – विद्रोहको मुख्य नेता – राष्ट्रपति प्रतिरक्षाको दायरामा पर्दैन ।

युनका वकिलहरूले विद्रोहको आरोप अस्वीकार गरे र अदालतमा यसको विरोध गर्ने प्रतिज्ञा गरे । “युनको मार्सल लको घोषणालाई विद्रोहको रूपमा मान्यता दिन सकिँदैन”, उनीहरूले विज्ञप्तिमा भने, “हामी विश्वस्त छौँ कि कानूनी अदालतमा सत्यको विजय हुनेछ ।”

जवाफदेहिताको प्रक्रिया

विपक्षीले अभियोजनलाई स्वागत गरेको छ । “हामीले गैरकानूनी विद्रोह गर्ने षड्यन्त्रकारीहरूलाई मात्र होइन, गलत सूचना फैलाएर उक्साउनेहरूलाई पनि समात्न आवश्यक छ”, सांसद हान मिन–सूले भने । प्रमाण प्रदान नगरी युन र उनको कानूनी टोलीले चुनाव जालसाजी र विपक्षी–नियन्त्रित संसदमा व्यवस्थापिका अवरोधलाई मार्सल ल घोषणाको औचित्यका रूपमा देखाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित ‘चोरी रोक’ बयानबाजी अपनाउने समर्थकहरूको समर्थन प्राप्त गर्दै युनले ‘अन्त्यसम्म लड्ने’ प्रतिज्ञा गरेका छन् ।

“यो अभियोजनले संवैधानिक व्यवस्था सही ढङ्गले काम गर्दैछ भन्ने पुष्टि गर्दै राहतको भाव प्रदान गर्नेछ”, राजनीतिक थिङ्क ट्याङ्क भ्यालिडका सह–संस्थापक बाइ काङ्–हुनले भने ।

युनले आफ्नो महाभियोगलाई समर्थन गर्ने र उनलाई औपचारिक रूपमा राष्ट्रपति पदबाट हटाउने निर्णय गर्न संवैधानिक अदालतको सुनुवाइको शृङ्लाको पनि सामना गर्नुपरेको छ । यदि अदालतले युनको विरोधमा फैसला गरेमा भने उहाँले राष्ट्रपति पद गुमाउनु हुनेछ र ६० दिनभित्र चुनाव गरिनेछ । रासस, एएफपी


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट