Techie IT
Samayabaddha
शनिबार, ३ फागुन, २०८१

हमासद्वारा थप तीन जना इजरायली बन्धकलाई रिहा


प्यालेस्टिनी लडाकू समूह हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको छ । एक हप्ताको अन्योलपछि हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको बीबीसीले जनाएको छ ।

रिहा भएका बन्धकहरूमा अलेक्जेन्डर ट्रुभनोभ, याएर होर्न र सागी डेकल–खेन रहेका छन् । उनीहरू सबै इजरायली नागरिक हुन् । यसको बदलामा इजरायलले विभिन्न जेलमा रहेका तीन सय ६० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीलाई रेडक्रसको जिम्मा लगाएको छ ।

रेडक्रसका कर्मचारीहरूले हमासका सदस्यहरूसँग बन्धकको रिहाइसँग सम्बन्धित कागजातहरूमा हस्ताक्षर गरेपछि बन्धकहरूलाई कारमा राखेर रिहाइ विन्दुमा ल्याइएको थियो । रिहाइअघि तीनै जनालाई हमासले खान युनिसको मञ्चमा खडा गराएको थियो । त्यसपछि बन्धकहरूलाई त्यहाँ उपस्थित मानिसहरूसँग कुरा गर्न माइक्रोफोन दिइएको थियो ।

गएको जनवरी १९ मा हमास र इजरायलबीच युद्धविराम सम्झौता भएयताको यो छैटौं पटकको बन्धक रिहा हो ।

यसअघि गएको सोमवार इजरायलले युद्धविरामका शर्त उल्लङ्घन गरेको भन्दै हमासले बन्धक रिहा नगर्ने जनाएपछि युद्धविराम भङ्ग हुने चिन्ता उत्पन्न भएको थियो । त्यसपछि इजरायलले हमासलाई जीवित बन्धकलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध शुरू गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने चेतावनी दिएपछि उसले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट