Techie IT
Samayabaddha
बिहीबार, ८ फागुन, २०८१

युक्रेनमा नेटो सेनालाई रुसले स्वीकार नगर्ने, साउदी अरबमा भएको वार्तामा के भयो ?


अमेरिकासँगको उच्चस्तरीय वार्तापछि रुसले शान्ति सम्झौताअन्तर्गत युक्रेनमा युरोपियन देशहरु रहेको नेटो समूहका सेनालाई आफ्नो देशले स्वीकार नगर्ने बताएको छ ।

साउदी अरेबियामा भएको वार्तामा विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो देशले युक्रेनमा कुनै पनि शान्ति सम्झौताअन्तर्गत नेटो देशका शान्ति सेनालाई स्वीकार नगर्ने बताएका बीबीसीले जनाएको छ ।

उनले रुस युद्ध अन्त्यका लागि प्रक्रिया थाल्ने पक्षमा भएपनि युक्रेन सामेल भएर नेटो रक्षा गठबन्धनको कुनै पनि विस्तार रूसको लागि प्रत्यक्ष खतरा हुने भन्दै रूसको अघिल्लो अडानलाई दोहोर्‍याएका हुन् ।

यसैबीच युरोपेली नेताहरूले युक्रेनसँगको शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रुस र अमेरिकाबीचको वार्ता प्रयासका बारेमा संयुक्त धारणा बनाउन पेरिसमा बैठक बसे पनि मत बाझिएकाले वैठक बिना निष्कर्ष सकिएको छ ।

बेलायतले आवश्यक परे युक्रेनमा आफ्ना सेना तैनाथ गर्न सक्ने बताइरहदा जर्मनी, पोल्याण्ड लगायतका अरु देशले युरोपेली सेना तैनाथ गर्नु युक्रेनमा शान्ति कायम गर्ने सबैभन्दा जटिल र कम प्रभावकारी तरिका हुने बताइरहेका छन् ।

यस्तै रुस र अमेरिकाले युद्ध अन्त्यका लागि वार्ता शुरू गर्न छुट्टै टोली तोक्ने सहमति गरेका छन् । बैठकपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हिजोको वार्ता युद्ध अन्त्यको प्रयास स्वरुप पहिलो चरणको भएको तर महत्त्वपूर्ण रहेको बताएका खबरमा उल्लेख छ । तर युक्रेनलाई वार्तामा नबोलाइएकोले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वार्ताका प्रस्ताव र निर्णय स्वीकार नगर्ने बताउदै आएका छन् ।

आवश्यक परेमा  जेलेन्स्कीसँग कुरा गर्न तयार छन् पुटिन 

यसअघि, बैठकको क्रममा रूसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आवश्यक परेमा राष्ट्रपति पुटिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको बताएका थिए । तर, उनले जेलेन्स्की साँच्चै युक्रेनका राष्ट्रपति हुन् र भन्ने प्रश्न उठाएका थिए ।

युक्रेन युरोपेली संघमा सामेल हुने विरुद्धमा नभएको पत्रकारहरूसँग कुरा  गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । रुसले यो संगठनलाई आफ्नो सुरक्षाको लागि खतरा नमान्ने उनको भनाइ थियो । युरोपेली संघमा सामेल हुने वा नहुने भन्ने निर्णय युक्रेनले गर्ने उनले बताए । यस संगठनको हिस्सा हुनु कुनै पनि देशको ‘सार्वभौम’ अधिकार भएको तर नेटो जस्ता रक्षा संगठनहरूको मामिलामा रुसको विचार फरक भएकोमा उनले जोड दिए ।

बैठकमा आमन्त्रित थिएनन् जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई युक्रेन युद्ध रोक्ने र शान्ति बहाली गर्नेबारे भएको यस वार्तामा बोलाइएको थिएन ।  बीबीसी न्यूजले एक वरिष्ठ युक्रेनी सरकारी अधिकारीलाई उद्धृत गर्दै यो कुरा पुष्टि गरेको छ । यसअघि, अमेरिकी विशेष दूत किथ केलॉगले युक्रेनको संलग्नताबारे बोलेका थिए ।

यस बैठकमा युरोपेली देशका नेताहरूलाई पनि आमन्त्रित गरिएन । युरोप वार्ताबाट बाहिरिन सक्ने डरले फ्रान्सेली राष्ट्रपतिले सोमबार एक दिन अघि नै शिखर सम्मेलन आह्वान गरेका थिए । युरोपेली देशका नेताहरूले यसमा भाग लिएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट