Techie IT
Samayabaddha
शनिबार, १० फागुन, २०८१

युक्रेनबारे अमेरिका र रूसको वार्तालाई चीनको समर्थन


युक्रेनमा तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र रूसले थालेको वार्ताको चीनले समर्थन गरेको छ।

दक्षिण अफ्रिकामा जारी जी २० समूहको सम्मेलनमा बिहीबार त्यसबारे प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्री वाङ यीले शान्तिका लागि हुने सबै प्रयासको चीनले समर्थन गर्ने बताएको विभिन्न अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

युक्रेन र युरोपेली देशका कुनै प्रतिनिधि बेगर नै मंगलबार साउदी अरेबियाको राजधानी रियाधमा अमेरिका र रूसले वार्ता सुरू गरेका थिए।

अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्व दूत स्टिभ विट्कफ, रूसी विदेशमन्त्री सर्गेई लाभ्रोव र पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ अनि केही साउदी प्रतिनिधिबीच भएको बैठक करिब साढे ४ घन्टा चलेको थियो।

दक्षिण अफ्रिकामा जारी जी २० समूहको सम्मेलनमा बिहीबार त्यसबारे प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्री वाङ यीले शान्तिका लागि हुने सबै प्रयासको चीनले समर्थन गर्ने बताएको विभिन्न अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

सो वार्तामा भाग लिने पक्षहरूले दीर्घकालीन र दिगो समाधान पहिल्याउने छन् भन्ने चीनले आशा गरेको वाङले बताए भनेर चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

युक्रेनमा जारी युद्ध अन्त्य गर्नेबारे अमेरिका र रूसले हालै गरेको सहमतिको पनि चीनले समर्थन गर्ने र शान्ति वार्तामा रचनात्मक भूमिका खेल्न चीन तयार रहेको पनि उनले आश्वासन दिएका छन्।

अमेरिका र रूसले हालै गरेको सहमति के होरु भनेर वाङले खुलाएनन्। युक्रेन र युरोपेली देशहरू भने अमेरिकाले उनीहरूको बेवास्ता गर्दै रूसका शर्तहरूमा युद्ध विराम गर्न खोजेको भनेर रूष्ट छन्।

सोही सम्मेलनको क्रममा वाङले रियाधमा भएको वार्तामा भाग लिएका रूसी विदेशमन्त्री लाभ्रोवसँग द्विपक्षीय भेट पनि गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिनमा युक्रेनले नै रूससँग युद्ध सुरू गरेको झुटो दाबी गरेका छन्। त्यस्तै रूसको भाषा बोल्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई चुनाव बेगरका तानाशाह भनेका छन्।

सन् २०१९ मा राष्ट्रपति निर्वाचित भएको जेलेन्स्कीको कार्यकाल २०२४ मै सकिए पनि देशमा युद्ध चलेको बेलामा चुनाव गर्न सम्भव नभएको भन्दै उनले चुनाव गराएका छैनन्।

ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनबाट प्रभावित भएर रूसलाई फाइदा हुने गरी सहमति गर्लान् भनेर डराएका युरोपेली देशका सरकार प्रमुखहरूले सो विषयमा आकस्मिक बैठक गरिसकेका छन्।

पुटिनको माग अनुसार युक्रेनबारे सहमति गरे उनलाई र अमेरिका दुवैलाई चीन, इरान लगायत विपक्षी राष्ट्रले कमजोर ठान्ने छन् भनेर ट्रम्पलाई सम्झाउन केही दिनमै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन र बेलायती प्रधानमन्त्री कियर स्टार्मरले अमेरिकाको छुट्टा(छुट्टै भ्रमण गर्दैछन्। भ्रमणका क्रममा उनीहरूले भविष्यमा पुटिनले फेरि युक्रेनमाथि हमला नगरून् भनेर प्रत्याभूति नगरी युद्ध रोक्ने सहमति नगर्न सम्झाउने प्रयास गर्ने छन्।

मंगलबार रियाधमा सुरू भएको वार्तामा साउदी राजकुमार मोहम्मद बिन सलमान (एमबिएस) ले युक्रेनलाई पनि सहभागी गराउन चाहे पनि अमेरिका र रूसले नमानेको खुलिसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग फेब्रुअरी १२ मा टेलिफोन संवाद गरेपछि युक्रेनमा तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र रूसबीच मंगलबार छलफल भएको हो।

अमेरिका र रूसबीच सुरू भएको वार्तामा साउदीमा शासन चलाइरहेका एमबिएसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रतिनिधि पनि सामेल गराउन चाहेका थिए। तर अमेरिका र रूस दुवैले युक्रेनको उपस्थिति नचाहेकाले सहभागी नगराइएको भनेर ब्लुमबर्गले लेखेको छ।

बुधबार रियाध आउने पूर्व(निर्धारित कार्यक्रम भएका जेलेन्स्कीलाई वार्तामा साउदी भूमिका र मंगलबार भएको प्रगतिबारे एमबिएसले जानकारी गराउन चाहेका थिए भनेर एक साउदी स्रोतको हवाला दिँदै ब्लुमबर्गले जनाएको छ।

तर बैठकमा युक्रेनलाई समावेश नगरेको भनेर रिसाएर उनले साउदी भ्रमण सारेका छन्।

एमबिएससँग राम्रो सम्बन्ध रहेको भन्दै उनले मार्च १० मा साउदीको भ्रमण गर्ने भनेका छन्।

ुयुक्रेनमा युद्ध कसरी अन्त्य गर्ने भन्ने बारेमा निर्णय युक्रेन बिना गर्न सकिँदैन, न त कुनै शर्त थोपर्न सकिन्छ,ु टर्की भ्रमणमा रहेका जेलेन्स्कीले मंगलबार भने।

ुसाउदीमा भएको यो रूसी(अमेरिकी बैठकमा हामीलाई आमन्त्रण गरिएको थिएन। यो हाम्रो लागि, मलाई लाग्छ धेरै अरूको लागि पनि आश्चर्य थियो,ु उनले थपे।

युक्रेनलाई जस्तै युरोपेली देशलाई पनि सो वार्तामा सहभागी नगराइएको भनेर युरोपमा समेत विरोध भएको छ। तर अमेरिकी विदेश मन्त्री रूबियोले कसैलाई पनि पाखा नलगाइएको दाबी गरे।

वार्तापछि उनले फ्रान्स, जर्मनी, बेलायत, इटाली र बेलायतका विदेश मन्त्री र युरोपियन युनियनका अधिकारीलाई प्रगतिबारे जानकारी गराएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यसअघि जर्मनीमा भएको म्युनिख सुरक्षा सम्मेलनका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको साइडलाइन वार्तामा जेलेन्स्कीले साउदीमा हुने वार्ताबारे आफू अवगत नभएको जानकारी गराएका थिए।

उनले आफ्ना अन्य रणनीतिक साझेदारहरूसँगको छलफल अगाडि रूससँगको वार्तामा सहभागी नहुने भनेर पनि भान्सलाई जानकारी गराएको रोयटर्सले समाचारमा लेखेको छ।

म्युनिख सुरक्षा सम्मेलनमा भान्सले युक्रेन र रूसबीच युद्ध अन्त्यका लागि हुने वार्तामा युरोपेली मुलुकहरूलाई स्थान नदिइने भनेका थिए।

ट्रम्पले पनि युक्रेन युद्ध अन्त्य गर्ने छलफलमा युरोपेली मुलुकहरू हुनेछैन भन्दै आएका छन्।

रूस विरूद्धको युद्धमा युक्रेनलाई सघाउँदै आएका युरोपेली मुलुकहरूले वार्तामा सहभागी नगराउने भनेपछि आपत्ति जनाएका छन्।

युक्रेनले पनि आफूलाई सहयोग गरिरहेका युरोपेली मुलुकहरूको सहभागिता बिना हुने कुनै पनि निर्णय स्वीकार नगर्ने देखिन्छ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट