Techie IT
Samayabaddha
शनिबार, १० फागुन, २०८१

प्यालेस्टाइनी लडाकुद्वारा दुई इजरायली बन्धक मुक्त


राफा, १० प्यालेस्टाइनी क्षेत्र । प्यालेस्टाइनी लडाकुले शनिबार दुई इजरायली बन्धकलाई मुक्त गरेका छन् । इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिहरूलाई बुझी आफ्नो भूमिमा फिर्ता गरेको त्यहाँको सेनाले जनाएको छ ।

गएको जनवरी १९ मा सुरु भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धकहरूलाई मुक्त गरिएको हो । अरू चारजनालाई पनि शनिबार नै रिहा गर्ने तयारी भइरहेको लडाकु समूह हमासनिकट स्रोतले जनाएको छ ।

लडाकुले शनिबार रिहा गरिएका ताल शोहम र एवेरु मेन्गिस्टुलाई दक्षिणी गाजास्थित राफाको एउटा मञ्चमा ल्याएका थिए । शोहमलाई कालो पहिरनमा सजिएका सशस्त्र र नकाबपोस लडाकुको उपस्थिति रहेको भेलामा सम्बोधन गर्न लगाइयो । र, त्यसपछि दुवैजनालाई रेडक्रसको जिम्मा लगाइएको थियो ।

प्यालेस्टाइनी लडाकुले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको अकल्पनीय आक्रमणका क्रममा दर्जनौँ मानिसलाई कब्जामा लिएका थिए । त्यसपछि गाजापट्टीमा १५ महिनाभन्दा बढी युद्ध भएको थियो ।

मध्य गाजामा शनिबार नै एक छुट्टै समारोहबीच अरू चार बन्धकलाई मुक्त गरिनेछ । हमासले मध्य गाजाको नुसिरातबाट चार बन्धकलाई पनि शनिबार नै रिहा गर्ने जनाइएको छ ।

इजरायली अभियान समूह द होस्टेज एन्ड मिसिङ फेमिलीज फोरमले रिहा हुने ६ इजरायलीको नाम सार्वजनिक गरेको थियो । उक्त सूचीमा एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेनकर्ट र हिशाम अल–सैयदका साथै मेन्गिस्तु र शोहम पनि थिए । रासस/एएफपी


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट