Techie IT
Samayabaddha
बुधबार, २१ फागुन, २०८१

अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता ट्रम्पद्वारा रोक्का


एजेन्सी, २० फागुन । राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई सबै सैन्य सहायता रोक्का गर्न आदेश दिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको केही दिनपछि अमेरिकाले यस्तो निर्णय गरेको हो।

अमेरिकी अधिकारीहरूका अनुसार युक्रेन र रुसबीच भइरहेको लडाइँ रोक्न अमेरिकाले प्रदान गरेको सैन्य सहायताले योगदान पुर्‍याइरहेको छ वा छैन भन्ने कुराको समीक्षा गरिने छ। अमेरिका युक्रेनलाई सबैभन्दा धेरै सैन्य सहायता उपलब्ध गराउने देश हो।

उसले रुसविरुद्धको युद्धमा युक्रेनलाई हवाई प्रतिरक्षा क्षेप्यास्त्रसहित महत्त्वपूर्ण अस्त्रहरू प्रदान गर्दै आएको थियो।

पहिलो टिप्पणी

युक्रेनी राष्ट्रपति जेलेन्स्की र उनका अमेरिकी समकक्षी ट्रम्प तथा उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भनाभन भएको थियो।

ट्रम्पले जेलेन्स्कीलाई ‘तृतीय विश्वयुद्ध निम्त्याउन चाहेको’ आरोप लगाएपछि जेलेन्स्की चिढिएका थिए। सोमवार फेरि ट्रम्पले जेलेन्स्कीको आलोचना गर्दै शान्ति सम्झौतालाई समर्थन नगरेमा उनी लामो समय पदमा नरहन सक्ने टिप्पणी गरेका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले युक्रेनलाई दिइने सैन्य सहायता रोक्का गरिएकोबारे एउटा वक्तव्य सार्वजनिक गरेका छन्। ‘वर्तमान समयमा राष्ट्रपति ट्रम्प मात्र विश्वका एक नेता छन् जोसँग युक्रेनमा जारी युद्धलाई स्थायी रूपमा अन्त्य गराउने एउटा मौका छ,’ रुबिओले भनेका छन्।

‘हामी रुसीहरूलाई वार्ताको टेबुलमा ल्याउन चाहन्छौँ। शान्ति सम्भव छ वा छैन भन्ने कुरा हामी हेर्न चाहन्छौँ।’ युक्रेनलाई सैन्य सहायता रोक्काबारे ट्रम्प प्रशासनको तर्फबाट आएको यो नै पहिलो सार्वजनिक टिप्पणी हो।

तर पूर्वराष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्‌का पूर्वनिर्देशक माइकल कार्पेन्टरले चाहिँ ट्रम्पको कदमप्रति आश्चर्य प्रकट गरेका छन्।
‘मेरो विचारमा यो केवल आश्चर्यचकित बनाउने खालको छ,’ कार्पेन्टरले भने।

‘यो युद्धमा स्पष्ट रूपमा आक्रमणकारी र पीडित रहेका छन्। रुस आक्रमणकारी हो भने युक्रेन पीडित हो तर हामी यसरी प्रस्तुत हुँदै छौँ कि मानौँ स्थिति त्यसविपरीत छ।’
हातहतियार मामिलासम्बन्धी संसदीय समितिमा प्रतिनिधित्व गर्ने डेमोक्र्याट सांसद ट्यामी डक्वर्थले सहायता रोक्का गर्ने ह्वाइट हाउसको निर्णय ‘युक्रेनको लज्जास्पद बेवास्ता गर्ने कदम’ भएको टिप्पणी गरेकी छन्।

‘यो निर्णयले हाम्रो देशलाई सुरक्षा तुल्याउँदैन,’ सामाजिक सञ्जाल एक्समा उनले लेखेकी छन्।

‘यो कदमले पुटिन र हाम्रा प्रतिद्वन्द्वीहरूलाई दृढ बनाउने छ भने हाम्रा लोकतान्त्रिक साझेदारहरूसँगको सम्बन्धलाई कमजोर बनाउने छ।’

अस्थायी रोक्का

सिनेटमा प्रतिनिधित्व गर्ने डेमोक्र्याट पीटर वेल्चले पनि ‘एक्स’मार्फत् आफ्नो असन्तुष्टि पोखेका छन्। ‘पुटिन एक युद्धअपराधी हुन्। जेलेन्स्की एक नायक हुन्। ट्रम्प कमजोर छन्,’ एक्समा उनले लेखेका छन्।

बीबीसीकी उत्तर अमेरिका संवाददाता नोमिआ इकबालले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार रुससँग शान्ति वार्ताप्रति युक्रेनले प्रतिबद्धता जनाएको कुरा ट्रम्पले सुनिश्चित नगरेसम्मका लागि सहायता रोक्का अस्थायी हो।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाहेको सुरक्षा प्रत्याभूतिबेगर नै ‘अमेरिकासँग खनिजसम्बन्धी सम्झौता र रुससँग शान्ति सम्झौता गरून्’ भन्ने ट्रम्प प्रशासन चाहन्छ। सुरक्षा प्रत्याभूतिको साटो ट्रम्पका सहयोगीहरूले आर्थिक प्रत्याभूमि दिलाउने विषयमा कुरा गर्दै आएका छन्। ट्रम्पका कदमका नाटकीय समय सम्भवतः संयोगवश हुन पुगेको छ ( उनले कङ्ग्रेसलाई सम्बोधन गर्ने समय २४ घण्टाभन्दा कम रहेका बेला यो सबै भएको छ जतिखेर उनले आफ्ना उपलब्धिको श्रेय लिन पाउने छन्।

युक्रेन र रुसबीच शान्ति सम्झौता होओस् भन्ने उनले चाहिरहेका छन्। यसअघि यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र उक्त युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना घोषणा गरेका थिए।

यूके, फ्रान्स र अन्य देशहरू पनि ‘इच्छुकहरूको गठबन्धन’मा सहभागी हुने र युक्रेनको समर्थनमा अमेरिकालाई समेत सहभागी गराउन प्रयास गरिने उनले बताएका थिए।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट