बेइजिङ | अमेरिकाले चीनमाथि एकतर्फी व्यापारिक दबाब बढाएपछि चीनले कडा प्रतिक्रिया दिँदै १० मार्च २०२५ देखि अमेरिकी उत्पादनहरूमा १० देखि १५ प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय गरेको छ। अमेरिकी सरकारले हालै चिनियाँ सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेपछि चीनले यो कदम चालेको हो। चीनको राज्य परिषद्को भन्सार शुल्क आयोगले मंगलबार यसको जानकारी दिएको छ।
आयोगका अनुसार, कुखुरा, गहुँ, मकै, र कपासमा १५ प्रतिशत अतिरिक्त शुल्क लगाइनेछ भने सोयाबिन, सुआप, सुँगुरको मासु, गाईको मासु, जल उत्पादन, फलफूल, तरकारी, र दुग्धजन्य वस्तुहरूमा १० प्रतिशत शुल्क लगाइनेछ।
चीनले हाल लागू गरिएका कर कटौती र छुट नीतिहरू परिवर्तन नहुने जनाएको छ। नयाँ शुल्कहरूले कुनै पनि छुट पाउने सम्भावना नहुने भन्सार शुल्क आयोगले स्पष्ट पारेको छ।
अमेरिकी सरकारले फेन्टानिल मुद्दालाई बहाना बनाउँदै एकतर्फी रूपमा भन्सार शुल्क बढाएकोमा चीनले आपत्ति जनाएको छ। चीनका अनुसार, यसले अमेरिकी व्यवसाय र उपभोक्तामाथि पनि असर पार्नेछ र चीन(अमेरिका व्यापारिक सम्बन्धलाई थप कमजोर बनाउनेछ।
यसबाहेक, चीनले केही अमेरिकी कम्पनीहरूलाई प्रतिबन्ध सूचीमा राख्ने निर्णय पनि गरेको छ। ताइवानलाई हतियार बिक्री गर्ने तथा सैन्य प्रविधिमा संलग्न १० अमेरिकी कम्पनीहरूमाथि विशेष कडाइ गरिने बताइएको छ।
व्यापार विश्लेषकहरूका अनुसार, चीनको यो निर्णय व्यापार युद्धलाई थप चर्काउन सक्छ। चीन(अमेरिकाबीचको व्यापारिक तनाव पछिल्ला वर्षहरूमा बढ्दै आएको छ। सन् २०१८ मा ट्रम्प प्रशासनले पहिलो पटक चिनियाँ सामानमा १० प्रतिशत भन्सार शुल्क लगाउँदा चीनले संयम अपनाउँदै ऊर्जा उत्पादनहरूमा मात्र कर लगाएको थियो। तर, अमेरिका बारम्बार व्यापारिक तनाव चर्काउँदै गएपछि चीन बाध्य भएर कडा कदम उठाउन थालेको छ।
प्रतिक्रिया