Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने


काठमाडौं, २३ फागुन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने बताएका छन् ।

जेलेन्स्कीले उक्त वार्तालाई ‘महत्वपूर्ण बैठक’ हुने आशा व्यक्त गरेका छन् ।

वार्ताको समयमा जेलेन्स्की खाडी देशमा हुनेछन् । तर, वार्तामा उनले भाग लिने छैनन् । उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको प्रष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस–युक्रेन युद्ध अन्त्य गर्न शान्ति प्रक्रियाको खाकामा छलफल गर्न चाहेको बताएका छन् ।

गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो । जसमा ट्रम्पले जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको आरोप लगाएका थिए ।

यसैबीच, अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बन्द गर्दै गुप्तचर जानकारी दिन पनि छोडेको छ ।

युक्रेनी राष्ट्रपतिले अमेरिकाको यो निर्णयप्रति दुःख व्यक्त गरेका छन् । उनले देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् ।

बिहीबार विटकफले ट्रम्पले जेलेन्स्कीबाट ‘माफी’ र ‘कृतज्ञता’सहितको पत्र प्राप्त गरेको जानकारी दिएका छन् ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेको थियो । अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत रुसको नियन्त्रणमा छ । बीबीसी


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट