रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाबीच साउदी अरबमा आज वार्ता

रुस र युक्रेनबीच तीन वर्षदेखि चलिरहेको युद्ध अन्त्यका लागि युक्रेनी र अमेरिकी अधिकारीहरूबीच साउदी अरबमा आज महत्त्वपूर्ण वार्ता हुँदैछ ।
वार्तामा युक्रेनबाट राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका कर्मचारी प्रमुख, रक्षा र विदेशमन्त्री तथा उच्च सैनिक अधिकारी सहभागी हुने बीबीसीले जनाएको छ । अमेरिकाबाट पनि उच्च अधिकारीहरु बैठकमा सहभागी हुनेछन् ।
वार्ताका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज साउदी अरब जाँदै छन् ।
वार्ताको पूर्वसन्ध्यामा जेलेन्स्की साउदी राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्न साउदी अरब पुगेका छन् । तर उनी वार्तामा भने सहभागी नहुने खबरमा उल्लेख छ । रूस–युक्रेन युद्धकाबीच साउदीले विभिन्न विषयमा मध्यस्थकर्ताको भूमिका खेलेको छ ।
अघिल्लो शुक्रवार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की भएको घटनापछि पहिलोपटक युक्रेन र अमेरिका वार्तामा बस्न लागेका हुन् ।
अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले रूससँगको युद्ध अन्त्यका लागि युक्रेन अमेरिकी मागप्रति सकारात्मक देखिएको जनाएका छन् ।
युक्रनी राष्ट्रपति जेलेन्स्कीले पनि आफ्नो हितका लागि रचनात्मक वार्ता गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया