Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

पाकिस्तानमा रेल अपहरणमा परेकामध्ये एक सय ५५ जना यात्रु मुक्त, २७ जना लडाकू मारिए


पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा एक सय ५५ जना मुक्त भएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म १ सय ५५ जना यात्रुको उद्धार भएको र सुरक्षा बलको कारबाहीमा २७ जना लडाकू मारिएका सेनालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । बलुच लिबरेशन आर्मी (बीएलए) ले भने सुरक्षाकर्मी पनि मारिएका दाबी गरेको छ ।

समूहका लडाकुहरूले हिजो क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई अपहरण गरेका थिए । बलुच लिबरेशन आर्मीले रेलमा रहेका धेरै यात्रु र सुरक्षा बलका कर्मचारीहरू आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आफूहरूविरुद्ध कुनै कारबाही गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

क्वेटाका एक वरिष्ठ रेल्वे अधिकारी मुहम्मद काशिफले रेलमा चार सयदेखि पाँच सय जना यात्रु रहेको बताउनुभएको छ । बन्धकहरूलाई मुक्त गर्न सेनाले कारबाही चलाइरहेको छ । यो अभियानमा सुरक्षाकर्मीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन् ।

बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो । यो समूहले बलुचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट