Techie IT
Samayabaddha
मंगलबार, ४ चैत्र, २०८१

गाजामा इजरेली हवाई आक्रमण, कम्तीमा ३३० जनाको मृत्यु


एजेन्सी, ५ चैत । इजरेली लडाकु विमानहरूले गाजाका विभिन्न भागमा ज्यानुअरीमा युद्धविराम सुरु भएयताकै ठूको हवाई आक्रमण गरेका छन्।

गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली हमलामापरेर कम्तीमा ३३० जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा उक्त भूभागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वफा पनि रहेको बताइएको छ। उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाइएको थियो।

इजरेलले हवाई आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको ह्वाइट हाउसकी एक प्रवक्ताले फक्स न्यूजलाई बताएकी छन्। एउटा विज्ञप्तिमा इजरेलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरिरहेको बताएको छ। उक्त प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो। हमासलाई दबाव दिन इजरेलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ।

हमासले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ। उसले सो हमलाले बाँकी इजरेली बन्धकको भविष्यलाई अन्योलपूर्ण बनाएको पनि जनाएको छ।

इजरेल के भन्छ ?

एक इजरेली अधिकारीले बीबीसीलाई उक्त आक्रमण आवश्यक रहुन्जेल जारी रहने र हवाई हमलामा मात्रै सीमित नरहने बताएका छन्।

इजरेलले गाजा नजिकैका विद्यालयहरू हवाई हमलापछि आफूले बन्द गरेको जनाएको छ।

एउटा विज्ञप्तिमा इजरेल डिफेन्स फोर्सेसले आफूले हमासका ‘आतङ्कवादी निसानाहरू’ लाई लक्ष्य गरेर आक्रमण गरिरहेको जनाएको छ।

मध्यगाजामा तीनवटा घरमा हमला गरिएको छ भने गाजा सिटीको एउटा भवन तथा खान युनिस र रफाहका विभिन्न स्थानमा पनि हमला भएको प्रत्यक्षदर्शी र स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले जनाएको छ।

ज्यानुअरी १९ मा युद्धविराम आरम्भ भएयता इजरेलले गाजामाथि गरेको हवाई हमलाको यो सबैभन्दा ठूलो शृङ्खला हो। युद्धविरामलाई लम्ब्याउन भइरहेका वार्ता सहमतिमा पुग्न विफल भएका छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र रक्षामन्त्री इजरेल कात्सले मङ्गलवार बिहान हमलाको आदेश दिएको त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

‘हमासले हाम्रा बन्धक रिहा गर्न बारम्बर अस्वीकार गर्नुका साथै अमेरिकी राष्ट्रपतिका दूत स्टीभ विट्कफ र मध्यस्थकर्ताका सबै प्रस्तावहरू अस्वीकृत गरेपछि यस्तो गरिएको थियो,’ विज्ञप्तिमा लेखिएको छ।

‘अब उप्रान्त इजरेलले थप सैन्य शक्तिसहित हमासविरुद्ध कदम चाल्ने छ।’

इजरेली प्रधानमन्त्री कार्यालयका अनुसार हवाई हमलाका योजना इजरेली सैन्य बलले सप्ताहान्तमा प्रस्तुत गरेको थियो र त्यसलाई राजनीतिक नेतृत्वले अनुमोदन गरेको थियो।
रमदानको पवित्र महिनाको समयमा बिहानै मानिसहरूले भोजन गरिरहँदा गाजामा विस्फोटन सुरु भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन्।

उनीहरूका अनुसार २० वटाभन्दा बढी लडाकु विमानहरू आकाशमा उडेका थिए।

तिनले गाजा सिटी, रफाह र खान युनिसका विभिन्न स्थानमा आक्रमण गरेका थिए।

युद्धविराम किन लम्बिन सकेन ?

मार्च १ मा समाप्त भएको पहिलो चरणको अस्थायी युद्धविरामपछि वार्ता गरेर अगाडिको बाटो पहिल्याउने प्रयास भएको छ।

संयुक्त राज्य अमेरिकाले मध्यएप्रिलसम्म पहिलो चरणको युद्धविरामलाई लम्ब्याउन प्रस्ताव गरेको थियो। उसले उक्त अवधिसम्म हमासले बन्धक बनाएका व्यक्तिहरू र इजरेलले बन्दी बनाएका प्यालेस्टिनीहरूको थप आदानप्रदान उक्त अवधिमा गर्नुपर्ने विषय पनि आफ्नो प्रस्तावमा राखेको थियो।

तर वार्तासँग जानकार एक प्यालेस्टिनी अधिकारीले बीबीसीसँग कुरा गर्दै इजरेल र हमासले अप्रत्यक्ष वार्ताका क्रममा विट्कफले अघि सारेको मूल पक्षमा नै असहमति जनाएको उल्लेख गरेको छ।
इजरेल र हमासबीचको पछिल्लो लडाइँ अक्टोबर ७, २०२३ मा सुरु भएको थियो। हमासले त्यस बेला दक्षिण इजरेलमा १,२०० भन्दा बढीको हत्या गरेको थियो। तीमध्ये अधिकांश सर्वसाधारण थिए। हमासले २५१ जनालाई बन्धक बनाएको थियो।

उक्त आक्रमणपछि इजरेलले सैन्य कारबाही थालेको थियो। त्यस क्रममा हालसम्म ४८,५०२ जनाभन्दा बढीको मृत्यु भएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मारिनेमा अधिकांश गैरसैनिक छन्।

गाजाको २१ लाख जनसङ्ख्या कैयौँ पटक विस्थापित भएको छ। त्यहाँका करिब ७० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् वा भग्नावशेषमा परिणत भएका छन् भने स्वास्थ्य सेवा, पानी र सरसफाइ प्रणाली ध्वस्त भएको छ। मानिसहरूले खानेकुरा, इन्धन, औषधि र आवासको अभाव खेपिरहेका छन्। बीबीसीबाट 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट