अमेरिकामा मतदानसम्बन्धी नियम परिवर्तन, मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानसम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् । ट्रम्पले हस्ताक्षर गरेका कार्यकारी आदेशले चुनावमा हुनसक्ने धाँधली रोक्ने आशा छ ।
ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार यो कदम मतदाता सूचीमा गैरकानूनी रूपमा समावेश अप्रवासीहरूलाई नियन्त्रण गर्न लक्षित छ । ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा आफ्नो हारको कारण फर्जी मतदान रहेको बताएका थिए ।
राष्ट्रपतिले एकपक्षीय रूपमा जारी गर्ने कार्यकारी आदेशहरूलाई कानून सरह मानिन्छ र यसका लागि कंग्रेसको स्वीकृति आवश्यक पर्दैन । कंग्रेसले यस्ता आदेश उल्टाउन सक्दैन तर यसलाई अदालतमा चुनौती दिन सकिन्छ ।
अमेरिकामा सबै राज्यका मतदानका नियम एकरूपता छैन । टेक्सास, जर्जिया र इन्डियानाजस्ता राज्यहरूमा मतदान गर्न ड्राइभिङ लाइसेन्स, पासपोर्टजस्ता प्रमाणपत्र देखाउनुपर्छ । क्यालिफोर्निया, न्युयोर्क र इलिनोइसजस्ता राज्यहरूमा भने मतदान प्रक्रिया यति कठोर छैन । ती राज्यहरूमा नाम, ठेगाना बताएर वा बिजुलीको बिलजस्ता साधारण प्रमाण देखाएर पनि मतदान गर्न सकिन्छ ।
यस्तै यो कार्यकारी आदेशले अमेरिकी चुनावहरूमा विदेशी नागरिकहरूबाट चन्दा लिन कडा प्रतिबन्ध लगाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया