हवाई आक्रमणमा आफ्ना एक प्रवक्ताको मृत्यु भएको हमासको भनाइ

गाजा, १५ चैत । इजरायलले बिहीबार गाजामा गरेको हवाई आक्रमणमा आफ्ना एक प्रवक्ताको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले जनाएको छ ।
समूहले उत्तरी गाजाको जबालिया क्षेत्रमा रहेको एक टेन्टमा भएको ‘हवाई’ आक्रमणमा मारिएका अब्दुल लतिफ अल–कानौको मृत्युप्रति दुःख व्यक्त गरेको छ ।
मार्च १८ मा इजरायलले गाजामा आफ्नो बमबारी अभियान पुनः सुरु गरेसँगै गाजामा हप्तौंको सापेक्षिक शान्ति कायम गरेको कमजोर युद्धविराम समाप्त भएको थियो ।
हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ८५५ जनाको मृत्यु भइसकेको छ । कानौ हालै इजरायलको आक्रमणमा मारिएका हमासका पछिल्लो उच्च पदस्थ अधिकारी हुन् ।
इजरायली सेनाले गत साता हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख रसिद जाहजौहलाई हवाई आक्रमणमा मारिएको बताएको थियो ।
केही दिनअघि हमासले गाजा पट्टीमा आफ्नो सरकारका प्रमुख एसाम अल डालिस र गृह मन्त्रालयका प्रमुख महमुद अबु वात्फालाई आक्रमणमा मारिएका अधिकारीहरूको सूचीमा राखेको थियो ।
इजरायली सेनाले सन् २०२१ को जुनमा गाजामा प्रशासनको प्रमुख बनेका हमासको राजनीतिक ब्यूरोका सदस्य डालिसको मृत्यु भएको पुष्टि गरेको छ ।
हमासले आफ्नो राजनीतिक ब्यूरोका सदस्य सालाह अल बर्दाविल र यासेर हर्बको मृत्यु भएको पनि पुष्टि गरेको छ । हमासले बिहीबार भनेको छ, “हमास आन्दोलनका नेता र प्रवक्तालाई निशाना बनाउने कार्यले हाम्रो इच्छालाई तोड्ने छैन ।” रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया