बेलायतले म्यान्मारका भूकम्प पिडितका लागि एक करोड २९ लाख अमेरिकी डलर उपलब्ध गराउने

लन्डन, १७ चैत । बेलायतले म्यान्मारका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
म्यान्मारमा शुक्रबार गएको भूकम्पका कारण ठुलो धनजनको क्षति भएको र राहत तथा उद्धार कार्यमा सघाउनका लागि बेलायत सरकारले सहायताको घोषणा गरेको हो ।
भूकम्पका कारण म्यान्मारमा एक हजार ६०० भन्दा बढीको मृत्यु हुनुका साथै व्यापक क्षति भएको छ । बेलायती विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बेलायतको यो कोषले भूकम्पबाट अति प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, औषधी र आवासका सामानको आपूर्ति लागि सहायता गर्नेछ।”
विकास मन्त्री जेनिफर च्यापम्यानले भने, “बेलायतको आर्थिक सहयोगमा सञ्चालित स्थानीय साझेदारहरूले पहिले नै म्यान्मामा मानवीय सहयोग गरिरहेका छन् । “यस दुःखद घटनापछि म म्यान्मारका जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु,” च्यापम्यानले भने ।
म्यान्माको मध्य भागमा गएको ७।७ म्याग्निच्यूडको भूकम्पपछि सेनाप्रति वफादार (जुन्टा) सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि विरलै गर्ने आग्रह गरेको थियो ।
बेलायतले यसअघि जुन्टासरकारसँग निकटता भएका व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएको थियो । रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया