इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने, अप्रत्यक्ष वार्ता गरेर उचित निर्णय लिने प्रतिक्रिया

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन् ।
उनले इरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सीधै बस्न नचाहने बताउँदै अप्रत्यक्ष वार्ताका लागि भने तयार रहेको स्पष्ट पारेका हुन् ।
ट्रम्प प्रशासनले इरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिँदै आएको छ ।
इरानी राष्ट्रपति पेजेस्कियानले जबसम्म अमेरिकाले आफ्ना गल्ती सुधारेर विश्वास जित्न सक्दैन, तबसम्म प्रत्यक्ष वार्ता सम्भव नभएको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।
इरानले अमेरिकी राष्ट्रपतिको पत्रको जवाफ ओमानमार्फत पठाएर प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको हो । तर अमेरिकासँग वार्ताका सबै ढोका बन्द नभएको ईरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका सल्लाहकार कमाल खराजीले बताए । उनले अप्रत्यक्ष वार्ताबाट ईरानले अर्को पक्षको मनसाय बुझ्ने र त्यसपछि उचित निर्णय गर्ने बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले सम्झौतामा सहमति जनाएन भने चार वर्षअघिजस्तै फेरि कडा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् ।
यसअघि ट्रम्पले सन् २०१५ मा भएको आणविक सम्झौता तोडेका कारण इरानले उनीमाथि विश्वास गरेको छैन ।
अमेरिकी प्रतिबन्धका कारण इरानी अर्थतन्त्र कमजोर बनेको छ, जसले वार्तालाई अझ महत्त्वपूर्ण बनाएको छ । तर, प्रत्यक्ष वार्तामा असहमति भएपछि यो कूटनीतिक समस्या झन् जटिल बनेको हो।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया