Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

राष्ट्रपति ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै अमेरिकामा विरोध प्रदर्शन


डलास (संयुक्त राज्य अमेरिका), १८ चैत । राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार डलासमा विरोध प्रदर्शन भएको सिएनएनले जनाएको छ ।

प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा सुरक्षा नियन्त्रणमा लिएका विद्यार्थीको रिहाइको माग पनि गरेका छन् । सिएनएनका अनुसार विरोधमा सहभागीहरूले एकता र देशभक्तिको प्रतीकको रूपमा अमेरिकी झण्डा बोकेका थिए भने केहीले महमुद खलिल, खान सूरी र रुमेसा ओजतुर्कका प्रतीक बोकेका थिए ।

ट्रम्प सरकारले आतङ्कवादी सङ्गठनसँग सम्बन्धित गतिविधिको आरोपमा केही विद्यार्थीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनमा व्यापक सहभागिता देखिन्थ्यो ।

‘लिग अफ युनाइटेड ल्याटिन अमेरिकन सिटिजन्स’का पूर्व राष्ट्रिय अध्यक्ष हेक्टर फ्लोर्सले विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वास्तुकला, कला, खाना, स्वास्थ्य सेवा, शिक्षा र विज्ञान लगायत विभिन्न क्षेत्रमा ल्याटिनहरूको योगदानबारे चर्चा गरेका थिए । उनले भने, “ल्याटिनहरू अमेरिकाको मेरुदण्ड हुन् ।”

दोस्रो कार्यकालमा आफ्नो अभियानको दृढ योजनाको रूपरेखा प्रस्तुत गर्दै राष्ट्रपति ट्रम्पले अघि सारेका आप्रवासन अधिकारलगायतका नीतिगत परिवर्तनबारे न्याय हुनुपर्ने फ्लोर्सले बताए ।
ट्रम्पले आप्रवासन नीतिलाई संसोधन गरी जन्मसिद्ध नागरिकतालाई हटाउने प्रयास गरेपछि अमेरिकी प्राज्ञहरूलेसमेत यसलाई असंवैधानिक निर्णय भनेका छन् । रासस/एएनआई


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट