अमेरिकाले इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष उच्चस्तरीय वार्ता गर्न लागेको बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यस्तो आश्चर्यजनक घोषणा गर्दै उनले आउँदो शनिवार प्रत्यक्ष वार्ता गर्न लागेको जानकारी गराएका समाचार संस्था एएफपीले जनाएको छ ।
ट्रम्पले इरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ठूलो खतरामा पर्ने चेतावनी दिए । इरानले पनि ओमानमा शनिवारका लागि छलफल तय भएको पुष्टि गरेको छ ।
इरानी समाचार एजेन्सी तस्निमका अनुसार विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि शीर्ष अमेरिकी दूत स्टिभ विटकफले वार्तामा भाग लिनेछन् ।
यसैबीच इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिका र इजरायलले युद्धग्रस्त गाजाबाट बन्धकहरू मुक्त गर्ने अर्को सम्झौतामा काम गरिरहेको बताएका छन् । गाजामा इजरायल र इरानको सहयोगी हमाससँगको शान्ति सम्झौता भङ्ग भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा इरानसँगको अघिल्लो सम्झौता रद्द गरेका थिए । अब कुनै नयाँ सम्झौता हुन नसकेमा अमेरिकी सहयोगमा इजरायलले इरानी सुविधाहरूमा आक्रमण गर्न सक्ने अनुमान छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया