Techie IT
Samayabaddha
मंगलबार, २ वैशाख, २०८२

अमेरिकामा ३० दिनभन्दा बढी समय बस्ने सबै विदेशी नागरिक दर्ता हुनुपर्ने, नभए जरिवाना र जेल सजाय


काठमाडौं । अमेरिकामा ३० दिनभन्दा बढी समय बसोबास गर्ने सबै विदेशी नागरिकहरुले अनिवार्यरुपमा संघीय सरकारमा दर्ता हुनुपर्ने भएको छ । ह्वाइट हाउसका अनुसार दर्ता नहुने विदेशी नागरिकले जरिवाना र जेल सजाय भोग्नुपर्ने पनि बताएको छ । नयाँ नियम पालना नगरेमा देश निकाला समेत हुनसक्ने इकोनोमिक टाइम्सले लेखेको छ ।

३० दिनभन्दा बढी समय अमेरिकामा रहेका सबै विदेशी नागरिकहरुले संघीय सरकारमा दर्ता गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सहायक र ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन लेभिटले बताएकी छिन् । उक्त नियमको पालना गर्न असफल भएमा जरिवाना, कारावास, वा दुवै सजाय हुनसक्ने उनले बताइकी हुन् ।

संघीय न्यायाधीशबाट अनुमोदन भएपछि दर्ता आवश्यक पर्ने विवादास्पद ट्रम्प नियम अघि बढेको हो । यो नियमले विभिन्न कानुनी लडाइँहरु सुरु गरेको छ भने अमेरिकाभरि आप्रवासी समुदायहरुमा गहिरो चिन्ता जगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त अमेरिकी जिल्ला न्यायाधीश ट्रेभर एन. म्याकफ्याडेनले अप्रिल १० मा उक्त नियम लागू गर्ने आदेश जारी गरेका हुन् ।

नियम कार्यान्वयन रोक्न खोज्ने वकालत समूहहरुको अनुरोधलाई अस्वीकार गर्दै उनले आदेश जारी गरेका थिए । नयाँ नियमले अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गरिरहेका कुनै पनि विदेशी नागरिकलाई संघीय सरकारमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । भिसा धारकहरु र कानुनीरुपमा स्थायी बासिन्दा मानिएका सहित पहिले नै दर्ता भइसकेका व्यक्तिहरुले पनि आफ्नो स्थितिको प्रमाण सधैं बोक्नुपर्ने पनि व्यवस्था गरेको छ ।

उक्त पालना नगरेमा ५ हजार डलरसम्म जरिवाना वा ३० दिनसम्मको जेल सजाय हुन सक्नेछ । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटिको निर्देशन अनुसार, अप्रिल ११ पछि अमेरिका आइपुगेका व्यक्तिहरुसँग दर्ता कागजात नभएको खण्डमा ३० दिनभित्र दर्ता गरिसक्नुपर्छ । १४ वर्ष पुगेका बालबालिकाहरुले, पहिले दर्ता भएको भए तापनि, आफ्नो जन्मदिनको ३० दिन भित्र पुनः दर्ता गर्नुपर्ने र औंठाछाप बुझाउनुपर्ने नियममा उल्लेख छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट