Techie IT
Samayabaddha
मंगलबार, २ वैशाख, २०८२

रुससँग सम्झौता गर्नुअघि युक्रेनको विनाश हेर्न आउन ट्रम्पलाई जेलेन्स्कीको आग्रह


युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग सम्झौता गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश भ्रमण गर्न आग्रह गरेका छन् ।

अमेरिकी टेलिभिजन र रेडियो प्रसारक सीबीएसको एक अन्तवार्तामा जेलेन्स्कीले ट्रम्पलाई कुनै पनि प्रकारको निर्णय गर्नुअघि, कुनै पनि प्रकारको वार्ता गर्नुअघि रुसी आक्रमणबाट आफ्नो देशमा भएको विनाश हेर्न आउन आग्रह गरेका बीबीसीले जनाएको छ । आइतवार युक्रेनी शहर सुमीमा भएको विनाशकारी रुसी मिसाइल आक्रमणभन्दा पहिले रेकर्ड गरिएको थियो ।

सुमी शहरमा भएको रुसी आक्रमणमा दुई बालबालिकासहित ३४ जनाको मृत्यु भएको थियो भने एक सय १७ जना घाइते भएका थिए । ट्रम्पले रुसी आक्रमणलाई ‘भयानक घटना’ भनेर वर्णन गरेका थिए भने जर्मनीका चान्सलर–इन–वेटिङ फ्रेडरिक मर्जले रुसलाई युद्ध अपराध गरेको आरोप लगाएका थिए ।

युक्रेनको सबैभन्दा बलियो सैन्य सहयोगी अमेरिकाले ट्रम्पको नेतृत्वमा वार्तामार्फत युद्धको अन्त्य गर्ने प्रयास गरिरहेका बेला यो आक्रमण भएको हो । रुस–युक्रेन युद्ध अहिले चौथो वर्षमा छ ।

सन् २०२२ को फेब्रुखरी २४ मा रुसले युक्रेनमा पूर्णस्तरीय आक्रमण शुरू गरेदेखि दुवैतर्फ लाखौं मानिस मारिएका वा घाइते भएका अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार अहिले झन्डै ७० लाख युक्रेनी शरणार्थीका रूपमा बाँचिरहेका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट