Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

युरोपेली सङ्घले सातवटा देशलाई ‘सुरक्षित मुलुक’ को सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा


ब्रसेल्स, ४ वैशाख । युरोपेली सङ्घले सातवटा देशलाई ‘सुरक्षित मुलुक’ को सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको छ ।

युरोपेली आयोगले कोसोभो, बङ्गलादेश, कोलम्बिया, इजिप्ट, भारत, मोरोक्को र ट्युनिसिया लाई सुरक्षित मुलुकको सूचीमा राख्ने प्रस्ताव अघि सारेको हो ।

आयोगका आप्रवासन आयुक्त म्याग्नस ब्रुनरले भने, “धेरै राष्ट्रहरूमा शरणका लागि आएका निवेदनहरू थुप्रिएको अवस्थामा छ, त्यसैले निर्णय प्रक्रिया छिटो पार्न सकिने उपाय अत्यावश्यक भएको छ ।”

मानवअधिकारवादीहरूको विरोध

मानवअधिकार संस्था युरोमेड राइट्सले सूचीमा समेटिएका केही देशहरूमा आफ्ना नागरिक तथा आप्रवासीहरूका अधिकार सुरक्षित नभएको भन्दै विरोध जनाएको छ ।“यी देशहरूलाई सुरक्षित भन्ने कुरा भ्रामक र खतरनाक हो,” संस्थाले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

युरोपको चासो र योजना

सन् २०२३ मा शरणका लागि युरोप छिर्नेहरूको सङ्ख्या दस वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो । यद्यपि सन् २०२४ मा ३८ प्रतिशतले घटेर झण्डै दुई लाख ४० हजार पुगेको थियो । हाल युरोपेली सङ्घले आदेश दिइएका मध्ये २० प्रतिशतभन्दा कम व्यक्तिलाई मात्र फिर्ता पठाउन सकेको तथ्याङ्क छ । पछिल्लो योजना अनुसार केही मुलुकहरूमा ‘फिर्ता केन्द्र’ बनाउने तयारी पनि भइरहेको छ ।

इटालीको प्रतिक्रिया

इटालीका गृहमन्त्री माटेओ पियान्टेडोसीले भने, “यो कदम हाम्रो सरकारको कूटनीतिक सफलताको प्रतीक हो ।” रासस, एएफपी

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट